काभ्रे जिल्लाको पनौती भेगको समुदायमा निरन्तर रूपमा सेवा र सामुदायिक कार्यहरु सञ्चालन गर्दै आएको रोट्र्याक्ट क्लब अफ पनौतीले ५ औं पदस्थापना समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष डा.मनिषा रोकायाले वर्ष २०२१।२२ का अध्यक्ष रोट्र्याक्टर आशुतोष केसीलाई पद हस्तान्तरण गर्नुका साथै क्लबको अध्यक्षीय माला(कोलार), ‘गङ्ग ग्याबल’ र चार्टर प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं क्लबको मातृसंस्था रोटरी क्लब अफ पनौतीका अध्यक्ष रोटरियन सितु सैंजुले अध्यक्ष केसीलाई शपथ खुवाउँदै रोटरी क्लबको आधार स्तम्भका रुपमा रहेको रोट्र्याक्ट क्लबका युवाहरुले उल्लेखनीय कार्यहरु गर्दै आएकोमा प्रशंसा गरिन् ।
उनले भनिन्, ‘क्लबमा आवद्ध भएका ३० वर्ष उमेरसम्मका युवाहरुमा केही गरौं भन्ने जोश र जाँगर रहने भएकाले रोट्र्याक्टरहरुले समुदायका लक्षित युवाहरुका लागि धेरै कार्यक्रमहरु गर्दै आउन सक्षम भएका छन् । यसले समग्र रोटरी अभियानलाई नै मद्दत पुर्याइरहेको छ’, सैंजुले थपिन् ।कार्यक्रमका विशिष्ट अतिथि एवं पनौती प्राविधिक शिक्षालयका प्राचार्य दीपकबाबु अर्यालले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा सुरु भएको लामो समय हुँदासमेत युवावर्ग सोचेजति आकर्षित हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
उनले भने, ‘रोट्र्याक्ट क्लबका युवाहरुले अब प्राविधिक र व्यावसायिक शिक्षाको महत्वबारेमा युवावर्गलाई सिकाएर उनीहरुलाई आत्मनिर्भर उन्मुख हुने अवसरमा सहभागी गराउनु पर्यो । किनकी यो पनि क्लबले समुदायका लागि गरेको योगदानका रुपमा गणना हुनेछ’, अर्यालले थपे ।निवर्तमान अध्यक्ष डा.मनिषा रोकायाले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो वर्ष कोभिड–१९ संक्रमण बढेकाले भौतिक उपस्थितिमा कार्यक्रमहरु सञ्चालनमा कठिनाई भएपनि डिजिटल रुपमा धेरै कार्यक्रमहरु सम्पन्न गर्न सकेको जानकारी दिइन्। यीमध्ये अधिकांश रोट्र्याक्ट सदस्यका क्षमता अभिवृद्धि, सामुदायिक कार्य, स्वास्थ्यका कार्यक्रमहरुलगायत रहेको रोकायाको भनाई छ ।

कार्यक्रममा जोन–४ का जोनल रोट्र्याक्टर रिप्रिजेन्टेटिभ डा. श्रीया देवजू श्रेष्ठले रोट्र्याक्ट क्लब अफ पनौतीले जोनमै उल्लेखनीय कामहरु गरेर क्लबको नामलाई अग्रस्थानमा ल्याएको भन्दै बधाई दिइन् । रोट्र्याक्ट पनौतीले ३० वर्षमुनिका युवाहरूलाई समेटी स्थापनाकालदेखि नै रोटा एबिसिडी कार्यक्रम, मास हाईकिङ, मधुमेह परिक्षण, रक्तदानजस्ता कार्यक्रमहरु गर्दै आइरहेको पनि कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा वर्ष २०२१÷२२ अध्यक्ष केसीले आफ्नो समितिका पदाधिकारीहरुलाई शपथ खुवाउँदै क्लबका सबै पदाधिकारी र सदस्यहरुको सक्रियता र सहभागितामा यस वर्ष पनि पनौती क्षेत्रमा नियमित सामुदायिक कार्यहरु सञ्चालन गर्ने, सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने तथा फेलोसिपमा जोड दिने योजना रहेको जानकारी दिए । कार्यक्रममा स्वागत गर्दै क्लबका सचिव प्रशन्ना स्याउलाले सुरुमा क्लब कसरी सञ्चालन गर्ने भन्ने द्विविधा रहेकोमा रोटरी क्लब अफ पनौती र यसका ‘न्यू जेनरेशन चेयर’बाट प्राप्त मार्गनिर्देशनहरुले क्लबलाई निरन्तर अघि बढाउनमा सहजता आएको विचार व्यक्त गरिन् ।
कार्यक्रममा रोटरी क्लब अफ पनौतीका अध्यक्ष (निर्वाचित) रोटरीयन मधुसुधन गुरागाईं, सचिव रोटरियन विष्णुमणि अधिकारी, पनौती प्राविधिक शिक्षालयका सह–प्राचार्य एवं रोटरियन मृगेन्द्रबहादुर प्रधान, क्लबका सहायक अध्यक्ष सौगात प्रतापसिंह कार्की, धुलिखेल र केयुस्थित रोट्र्याक्ट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतले क्लबका आगामी कार्यदिशाका लागि सल्लाह र सुझावहरु दिएका थिए । सो अवसरमा सह–सचिव सुहाना श्रेष्ठले पदस्थापन कार्यक्रमका अतिथि र सहभागीहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















