वागमती प्रदेशसभाका १२ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् । ती मध्य काभ्रेबाट निर्वाचित २ जना सांसदहरु लक्ष्मण लम्साल र बसुन्धारा हुमागाइँ समेत रहेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशसभाका १२ एमाले सांसदले उक्त दल त्याग गरी आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।

प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका कृष्णप्रसाद खनालसहित १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । सनाखत गराउने अन्य सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।

१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।

Comments

comments