–ईश्वर थोकर
१. उनी हस्याङफस्याङ गर्दै माथि उक्लिइन्
‘मसँग एउटा किताब छ ।’ घरबेटी बाकी छोरीले मुस्कुराउँदै भनिन्, ‘म तिमीलाई उपहार दिन्छु ।’
यति भनेर उनी हस्याङफस्याङ गर्दै माथि उक्लिइन् र हत्त न पत्त एउटा किताब मेरो हातमा थमाइदिँदै उनले फेरि मुस्कुराउँदै भनिन्, ‘यसलाई जतनका साथ राख्नू होला ।’
म आश्चर्यमा परेँ ।
किनभने उनले त्यत्रो प्रेमले दिएको त्यो किताब मेरै पहिलो कृति थियो– पिङ्गाई नामको ।
२. ‘म पलङबाट खस्छु’ भनेर उहाँ रातभरि सुत्नुभएनछ
एकपटक अफिसको कामको सिलसिलामा म अफिसका केही साथीहरुसहित भक्तपुरको एउटा गेष्ट हाउसमा पुगेको थिएँ । त्यहाँ हामीले एक रात बिताउनु परेको थियो ।
रुमपर्टनरको रुपमा मैले शिवप्रसाद सापकोटा सरलाई पाएको थिएँ । सापकोटा सर र म एउटै रुममा सुत्ने भयौँ ।
म खुसीले उफ्रिएँ । उहाँ पनि खुसी हुनुभयो ।
त्यस गेष्टहाउसमा बस्ने बेलाको एउटा घटनालाई अहिले पनि उहाँले सुनाइरहनुहुन्छ । घटना के रहेछ भने ‘म पलङबाट खस्छु’ भनेर उहाँ रातभरि सुत्नुभएनछ !
अनिँदो रहनुभएछ ।
३. मैले त खत भनेर हटाइदिएको थिएँ
मैले एउटा फोटो स्टुडियोमा गएर फोटो खिचाएको थिएँ । स्टुडियो मालिकले भन्नुभयो, ‘फोटो भोलि दिउँसोपख तयार हुन्छ । त्यही समयमा लिन आउनुहोला ।’
भोलिपल्ट म स्टुडियो पुगेँ ।
फोटो यसो हेरेँ । मेरा दुई आँखाको माझमा कोठी थियो । फोटोमा गायब देखेँ । तत्काल मैले स्टुडियो मालिकलाई सुनाएँ, ‘फोटोमा त मेरो कोठी छैन त ?’
उहाँले स्पष्टीकरण दिँदै भन्नुभयो, ‘मैले त खत भनेर हटाइदिएको थिएँ ।’
‘कहाँ खत हुनु ।’ मैले भनेँ, ‘त्यो त मेरो पहिचान हो ।’
त्यसपछि उहाँले मेरो कोठीसहितको फोटो तयार पारेर दिनुभयो ।
००
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















