चुडामणी तिमल्सिना
सरकारले २०७२ सालको भुकम्पपछि गाउँ गाउँमा भुकम्प प्रभावितको घर निर्माण गर्न इन्जीनियर खटायो । त्यति मात्र होइन अनुदान नै दिएर भुकम्प प्रभावितहरुको घर निर्माण गरे । जसलाई भुकम्प प्रतिरोधी घरको संज्ञा दियो ।

तर काभ्रेमा घर निर्माण गरेको पाँच वर्ष नपुग्दै ‘भुकम्प प्रतिरोधी’ घर भत्किन थालेको छ । जिल्लाको वेथान्चोक गाउँ पालिका वडा नं १ स्थित कलाङ्सिङका ५ परिवारको घर यसरी भत्किएको छ । यसरी ‘भुकम्प प्रतिरोधी’ भनिएका घरहरु नै भत्कन सुरु भएपछि स्थानीयहरु मर्कामा मात्र परेका छैनन्, अब कहाँ बस्ने भन्ने पीरले समेत सताउन थालेको छ ।

कमजोर आर्थिक अवस्थासँग पौंठेजोरी खेल्दै बल्लतल्ल निर्माण गरि सुखको श्वास फेर्न थालेको ५ वर्ष नपुग्दै आफ्नो घर भत्किन थाले पछि उनीहरु मर्कामा परेका हुन् । यसरी घर भत्केपछि त्यहाँका स्थानीयहरु वडा कार्यालय र गाउँपालिका कार्यालयमा हारगुहार गर्न पुगेका छन् ।
सो वडामा हालसम्म घर भत्कनेहरुमा अत्यन्तै कमजोर आर्थिक अवस्था भएका सो वडा स्थित कलाङ्सिङ निवासी दुर्ग बहादुर योन्जन, बिशाल लोप्चन, कर्णबहादुर लोप्चन, लालबहादुर लोप्चन र कोपिमायाँ योञ्जन रहेका छन् ।

‘घर पुनर्निर्माण गरेको ५ वर्ष पनि पुगेको छैन, तर के गर्नु घर त भत्कियो । अब जस्तोसुकै भुकम्प आएपनि भत्किदैन भन्या थ्यो इन्जीनियरले ।’ स्थानीय कोपिमाया योञ्जनले भने, ‘अब के गर्ने होला, बास बस्ने कहाँ होला ? चिन्ता लागेको छ ।’
यसरी ‘भुकम्प प्रतिरोधी’ भत्कनुमा कसको दोष होला ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















