काभ्रे जिल्लामा निर्माण भएको एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ । बनेपामा आज बसेको बैठकले एकीकृत समाजवादीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठक पार्टीको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकले यस अघि निर्माण गरिएका वडा तहसम्मका सबै कमिटी समेत स्वतः नेकपा (एकिकृत समाजवादी) पार्टीमा रूपान्तरण भएको जिल्ला सचिव दिपक गौतमले जानकारी दिए ।
‘हिजो एमाले हुँदा हामीले जिल्लामा निर्माण गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेका छौं ।’ सचिव गौतमले भने, ‘अब जिल्ला कमिटी मात्र होइन, यस अघि निर्माण भएको क्षेत्रीय कमिटी, नगर, गाउँ कमिटी, वडा कमिटीसबै एकीकृत समाजवादीमा रुपमान्तरण गर्ने निर्णय भएको छ ।’
त्यसैगरी जिल्लामा ३५ सदस्यीय सचिवालय निर्माण गरेको गौतमले बताए । सचिवालयमा जिल्ला कमिटीको पदाधिकारीहरु, पालिका इन्चार्ज र अध्यक्ष रहने गरी सचिवालय निर्माण गर्ने निर्णय गरेको बताउँदै जिल्ला सचिव गौतमले अर्को बैठकले अझै सचिवालय विस्तार गर्ने निर्णय भएको छ । बैठकले असोज १५ गतेसम्ममा सबै तहका संगठनलाई पूर्णता दिने निर्णय समेत गरेको छ ।
त्यसैगरी निर्वाचन आयोगले दिएको समय सिमा भित्र काभ्रेका थुप्रै जनप्रतिनिधिहरुले एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने जिल्ला सचिव गौतमले दावी गरे ।
बैठकलाई जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, संविधानसभा सदस्यद्वय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा, पूर्व सांसद शिब बहादुर देउजा, प्रदेश सांसदद्वय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले सम्बोधन गरेका थिए ।
बैठकलाई सम्बोधन गरेका सबै नेताहरूले जिल्लामा आफुहरूको पार्टीको भुमिका शसक्त र प्रभावकारी ठोकुवा गर्दै कसैको लोभ र भ्रममा नपर्न जिल्ला कमिटी सदस्यहरूलाई आग्रह गरे ।
जिल्लाको १३ वटै स्थानीय तह र १३५ वटै वडामा नेकपा (एकिकृत समाजवादी) पार्टीलाई थप मजबुद बनाउन लागिपर्ने नेताहरूले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















