पार्टी विभाजनमा मुख्य भूमिका खेलेको आरोप लागेका एमाले केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता र काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबारको ठेकेदार भएको आरोप लगाएका छन् । जिल्ला पार्टीद्वारा आयोजित जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै इन्चार्ज बाँस्कोटाले उक्त आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउबाको हितको निम्ति माधव नेपाल आफ्नो पुच्छारमा आगो लगाएर हिडिरहेका छन् ।’ बाँस्कोटाले भने, ‘माधव नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता र प्रधानमन्त्री शेरबहादुर देउबाको असली ठेकेदार हुन् ।’

उनले एमाले देशभक्ति पार्टी भएकाले आगामी निर्वाचनमा स्थानीय तहका सबै स्थान जित्ने दाबी गरे । ‘अबको निर्वाचनमा खालमा बस्ने अर्थात् ठुला दलमा एमाले र काँग्रेस हुन् । बाँकी पार्टी च्याँखे थप्ने मात्रै हो’, उनले भने, ‘माधव नेपालको काम चुनावमा काँग्रेसलाई भोट बेच्ने हो ।’

उनले थपे, ‘एमसिसिका उपाध्यक्ष नेपाल आउँदै भन्ने बुझेको छु, अब कम्र्फटेवल पार्टीको बाह्र बज्ने वाला छ ।’

नेता बाँस्कोटाले एमाले खुद्रा पसल नभई सुपरमार्केट भएको दाबी गर्दै चुनावपछि माधव नेपाल २१ औँ शताब्दीको केशरजंग रायमाझीको हालत हुने बताए । ‘मर्ने बेला हरियो काँक्रो भने झैँ ७० वर्षको उमेरमा नयाँ पार्टी खोल्ने रे । युवा पुस्तालाई हस्तान्तरण गर्ने भए पहिला नै गरिसक्थे नि, अरु केही नभई यो सब पदको भोगी भएर गरेको मात्रै हो’, उनले भने, ‘चुनावपछि माधव र उनको पार्टी कोल्याप्स हुने निश्चित छ ।’

त्यस्तै उनले काभ्रेमा एमाले छरिएर नरहेको र ८५ प्रतिशत अर्थात् आठ हजार ५ जना संगठित सदस्य रहेको बताए । दुई÷तीन जना चोइटिएर जादैँमा काभ्रे एमालेको रौँ पनि नहाल्लिएको उनको भनाई छ । ऐजेरु लागेर जन्मेकाहरुको मृत्यु भएको बताउँदै नेता बाँस्कोटाले एमालेबाट फुटेर एकिकृत समाजवादीमा जानेहरुलाई आफ्नो वडा जितेर देखाउनसमेत चुनौति दिए ।

उनले काँग्रेस र माओवादीले एमालेलाई जित्ने सपना नदेख्दा नै उचित हुने बताए । ‘भाई पार्टीहरु जति नै उफ्रे पनि गोडा मुनिको मुनि नै हुने हो’, उनले भने, ‘क्वाटर पार्टीहरुले फुल पार्टीलाई च्यालेन्ज नगरे हुन्छ ।’

त्यस्तै उनले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए । उलने भने ‘मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।