काभ्रेको चौंरीदेउराली गाउँपालिकामा तीजको उपलक्ष्यमा शुुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । चौंरीदेउराली गाउँपालिकाको आयोजनामा सोमबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राज्य व्यवस्था तथा शुसासन समितिका सभापति शशी श्रेष्ठले महिला अधिकार व्यबहारमा प्रयोग नभएको बताए । महिलालाई पहिलो दर्जाको रुपमा स्थापित गर्न अझै नसकेको बताउँदै श्रेष्ठले विभिन्न विद्रोहबाट प्राप्त अधिकारहरु समेत उपयोग गर्न नसकेको बताए । ‘हिजोका दिनहरुमा हामी महिलाहरुलाई पहिलो दर्जाको नागरिकको रपमा स्थापित गर्न सकेको थिएनौं । विभिन्न बलिदानबाट प्राप्त आजको संविधानमा अधिकार त दिएको छ, तर प्रत्याभूति गर्न भने सकेका छैनौं ।’

घरको सम्पत्तिको माया गर्ने छोरीलाई सम्पत्तिको मालिक नबनाएको भन्दै श्रेष्ठले अब यो परिवर्तन गर्न जरुरी रहेको बताउँदै राजनीतिले सबैको फैसला गर्ने भएकोले महिलाहरु राजनीतिमा लाग्नुपर्नेमा जोड दिए ।

‘छोरीलाई अझैपनि घरको सम्पत्तिबाट बञ्चित बनाएको छ । घरको सबै सम्पत्तिको माया छोरीले गरेको हुन्छ । तर उसले पाउँछ के ? छोरीलाई घरको दायित्वको रुपमा मात्र लिएका छौं ।’ उनले भने, ‘छोरा र छोरीलाई सम्पत्तिमा बराबर हक भनेर संविधानमा त लेखिएको छ । तर खोइत ? त्यसैले राजनीतिले सबै चीजको फैसला गर्ने भएकोले अब महिलाहरु राजनीतिक अभियानमा लागौं ।’

त्यसैगरी माओवादी केन्द्र काभ्रेका जिल्ला संयोजक रुकुु चौंलागाईंले महिलाहरुले संघर्ष गर्ने दिन नसकिएको बताउँदै पूर्ण मुक्तिका लागि महिलाहरु लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतम, नेकपा (एकीकृत समाजवादी)को नेता मुकुन्द गौतम, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष उषा अर्याल लगायतले तीजको अवसरमा शुुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष ताराकुमारी चौंलागाईंको नेतृत्वमा भएको कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट महिलाहरुको सहभागीता रहेका थिए । विहानै देखि गाउँपालिका कार्यालयमा जम्मा भएका गाउँपालिका भरिका महिलाहरु दर खाँदै नाचेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















