जिल्ला अदालत काभ्रेको परिसरबाटै फरार थुनुवा सुनिल लामा वाइबा भक्तपुरमा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार उनलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ०५ भीमसेन चोक पक्राउ परेको हो ।

गत भदौ ९ गते कारागार कार्यालय धुलिखेलबाट काभ्रेपलान्चोक जिल्ला अदालतमा बकपत्रको लागि उपस्थित गराइएको बेला अदालत परिसर भित्रको क्यान्टिनमा हतकडी टाइट भएकाले खुकुलो पार्ने क्रममा भागी फरार भएको थियो ।

१० लाख ५० हजार बराबरको मदिरा डिल गर्ने क्रममा पक्राउ

वाइबा फरार भएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली परिचालन भई खोजतलास गरिरहेको थियो ।

भदौ १० गते बिहान कारागार कार्यालयमा निजले प्रयोग गरेको फोन विवरण, आगन्तुक रेकर्ड, निजको डायरी, हस्तलिखित पुस्तिका बरामद गरी सूक्ष्म अध्ययन पश्चात् प्राविधिक विश्लेषण गरिएको डिएसपी खतिवडाले जानकारी दिए ।

त्यसपछि वाइबाको आपराधिक पृष्ठभूमि अध्ययन गर्दा यस अघि समेत नयाँ बानेश्वर र बौद्धमा मदिरा चोरी र ठगी कसुरमा संलग्न रहेको खुल्न आएपछि काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका छिमेकी जिल्लाहरूलाई हुलिया परिपत्र गरी उक्त क्षेत्रका प्रहरीहरूसँग समन्वय गरी व्यापक खोजतलास कार्य गरिएको थियो ।

खोजतलासकै क्रममा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ०५ भीमसेन चोक भन्ने स्थानमा रु १०,५०,०००।– (दस लाख पचास हजार रुपैयाँ) बराबरको मदिरा खरिद गर्ने भनी ठगी गर्ने मनसायले केही मदिरा व्यवसयीहरुसँग कुरा गरिरहेको भन्ने विशेष सूचना महानगर प्रहरी वृत्त ठिमी भक्तपुरले काभ्रे प्रहरीसँग समन्वय गरेका थिए ।

वाइबा नै हो भनी यकिन भएपछि उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरी रहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।