काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नं. ५, बुढाखानीकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । लामो व्यथा तथा दिसापिसाब रोके पछि सो वडाका २० वर्षिय अनुशा मोक्तानको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

वडा अध्यक्ष रविन मोक्तानका अनुसार लामो व्यथा तथा दिसापिसाब रोकेकी मोक्तानलाई सुरक्षित प्रसूतीको लागि स्थानीय बुढाखानी बर्थिङ सेन्टर चारकिल्लामा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । हेलिकप्टरमार्फत उद्धार गरिएका मोक्तानको काठमाडौं स्थित प्रसुती गृह थापाथलीमा उपचार भइरहेको वडा अध्यक्ष मोक्तानले जानकारी दिए ।
‘उपचार नपाएर जोखिममा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्दै आइरहेका छौँ ।’ गाउँपलिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार मोक्तानले निशुल्क सेवा पाएकी हुन् ।’
हालसम्म महाभारत गाउँपालिकाले आधा दर्जन भन्दा बढी सुत्केरी महिलाहरुलाई हेलिकप्टरबाट उद्धार गरिसकेको छ । पालिका भित्रका ८ वडामा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलालाई तत्कालै अस्पताल पु¥याई जीवन रक्षा गर्ने उद्धेश्यले हवाई सेवा सुचारु गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















