निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका नेकपा एमालेका १३ सांसदलाई नयाँ दलको सांसदका रुपमा मान्यता दिने निर्णय गरेको छ ।आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुनको अधिनमा रहेर उनीहरुलाई शुक्रबार दल परिवर्तनको मान्यता दिएको हो ।

आयोगका अनुसार बागमती प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएर राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका सांसदहरु राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठलाई नयाँ दलको सदस्यका रुपमा मान्यता दिइएको हो ।

आयोगले १३ सांसदले गराएको सनाखतलाई मान्यता दिएसँगै बागमती प्रदेशसभामा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । आयोगले प्रदेशसभा सचिवालयमा १३ सांसदको सनाखतले मान्यता पाएको औपचारिक जानकारी गराएपछि बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादीले औपचारिक मान्यता पाउने छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला