लेखक

 

 

■ ईश्वर थोकर

सुदीक्षा सिस्टरसित एकछिन

‘अक्कल, मन्दिरमा सुत्दा डर लागेन ?’ गफैगफमा एक्कासि सुदीक्षा सिस्टरले सोधिन् ।

ओठ काँपिरहेका थिए । काँपिरहेकै ओठले भनेँ, ‘लागेन सिस्टर ।’

‘अलिकति पनि !’ उनले आश्चर्यप्रकट गरिन् ।

‘अँ, म एक्लै सुत्दिनथेँ ।’ उनीतिर फर्केर सुनाएँ, ‘मसँगै एउटा कुकुर पनि सुत्थ्यो ।’

‘बाहिर त्यसरी सुत्न हुन्छ त ?’

मसँग जवाफ थिएन ।

जीवनको लय

‘मसित पनि कविता छ ।’ जीवनले डायरी पल्टायो, ‘सुन्ने हो अक्कल ?’

म हुरुक्क भएँ र भनेँ, ‘तिम्रै हो ?’

‘हो ।’ उसले निर्धक्कसाथ भन्यो ।

‘खै, सुनाऊ त ?’

‘मैले लेखेका गीतहरु मेरा आफ्ना भएनन्, तिम्रो सौगातको के कुरा, म नै आफ्नो भइनँ ।’२

‘कस्तो लाग्यो ?’ उसले आँखा झिम्क्यायो ।

मैले भनेँ, ‘ठ्याक्कै मेरो जीवनजस्तै ।’

२. नरेश शाक्य ।

गार्डको लात

आपाको जस्तो आवाज लागेर म वार्डको गेटतर्फ हान्निएँ ।

‘कता यता ?’ गार्डले बाटो छेक्यो, ‘खुरुक्क आफ्नो बेडमा जाने कि नाईँ ?’

मैले टेरिनँ ।

उसले भुक्क एक लात दियो । म भुइँमा पछारिएँ । उठाइदिने कोही भएनन् ।

छिरिङको प्रेम

‘उर्गेन, तिमी पनि यहाँ ?’ देखेलगत्तै छिरिङले मलाई गम्म अङ्गालो हालिन् र आश्चर्यचकित मुद्रामा सोधिन्, ‘तिमी यहाँ कहिले भर्ना भयौ राजा ?’

‘मेरो नाम अक्कल हो ।’ अक्मक्किँदै उनलाई भनेँ, ‘म उर्गेन होइन ।’

मेरो कुरालाई बेवास्ता गरेर उनले मलाई धेरैबेरसम्म अङ्गालीरहिन् ।

माया

वार्डको बेडमा पीडाले म रोइरहेको थिएँ । लाग्यो कि यो संसारमा मलाई माया गर्ने कोही भएन ।

एउटी सिस्टर मछेऊ आइपुगिन् र भनिन्, ‘अक्कल, तिमी किन रोएको ?’ आँसु पुछिदिँदै उनले थपिन्, ‘यता हेर त, तिम्रो सामुन्ने को छ ?’

नभन्दै मैले पुलुक्क हेरेँ । उनको आँखा टम्म भरिएको थियो ।

■■

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।