नेकपा (माओवादी केन्द्र) काभ्रेका युवा नेता चौंरीदेउराली–७ मादन निवासी धावा लामाको शनिवार निधन भएको छ । काठमाडौँ स्थित ह्याम्स अस्पतालमा नेता लामाको उपचारको क्रममा आज बिहान साँढे ९ बजे निधन भएको हो ।
दिवङ्गत लामाको आजै स्वयम्भूमा तामाङ संस्कार अनुसार दाहसंस्कार गरिएको थियो । उनको निधन प्रति माओवादी केन्द्र काभ्रेले गहिरो दुःख व्यक्त समेत गरेको छ ।
उनको अन्तिम दाहसंस्कारमा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्दै नेता गौतमले काभ्रे जिल्ला पार्टीले एउटा सशक्त युवा नेता गुमाएको प्रति दुःख व्यक्त गरे । ‘उहाँ पार्टीको एउटा सशक्त योद्धा हुनुहुन्थ्यो । देश, जनता र पार्टी प्रति सधैँ समर्पित नेता हुनुहुन्थ्यो ।’ गौतमले भने, ‘उहाँको निधनले पार्टीलाई मात्र होइन, देशलाई नै अपूरणीय क्षति पुगेको छ । चौंरीदेउराली गाउँपालिकाले एउटा असल छोरो गुमाएको छ ।’ शोकलाई शक्तिमा बदल्दै दिवङ्गत युवा नेता लामाले देखाएको बाटोमा निरन्तर लाग्न र उनले छोडेर गएको सपना पूरा गर्ने अभिभारा आफूहरूको काँधमा आएको समेत उनले बताए ।
सो क्रममा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य तेजबहादुर मिजार, पार्टीको काभ्रे जिल्ला सचिवालय सदस्यहरू आइतेसिं तामाङ, विष्णु मिजार, तेज पन्त लगायतका जिल्ला नेताहरू पुगेका थिए ।
वाइसिएल नेपालका समेत नेता रहेका लामाको निधन प्रति श्रद्धाञ्जली अर्पण गर्न काभ्रेको वाईसिएल नेताहरू समेत पुगेका थिए ।
दिवङ्गत लामा करिब डेढ महिना अघिदेखि उपचारमा थिए । उनको २ छोरी र एक छोरा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















