काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ६ का एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले मुखले समृद्धि भन्ने र व्यवहारले भ्रष्टाचार गरेको भन्दै उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।
सो वडामा सिङ्गै गाउँका एमाले कार्यकर्ताहरूले एमाले छाड्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो क्रममा खानीखोला गाउँपालिकामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित सिङ्गो गाउँका कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
खानीखोला गाउँपालिका वडा नं. ६ स्थित साबिक साल्धारा गाउँ विकास समितिको वडा नं. ९ का पूर्व वडाध्यक्ष चन्द्र गोलेको नेतृत्वमा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश भएको छ ।
एमाले परित्याग गरी माओवादीमा केन्द्रमा प्रवेश गर्नेहरूमा पूर्व वडाध्यक्ष गोलेसहित जगत् बहादुर थोकर, धन बहादुर थोकर, सोममाया थिङ, सिर्जना गोले, जगत् बहादुर घिसिङ, जित बहादुर घिसिङ, सन्दीप थोकर, पूर्ण बहादुर थोकर, पुतली थोकर, चन्द्रमाया थोकर लगायत रहेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट दल बहादुर राना, रत्न बहादुर राना लगायत प्रवेश गरेका छन् । एमाले परित्याग गरेका गोलेले एमालेले देश विकासको मिठो कुरा मात्र गर्ने गरेको तर भ्रष्टाचारलाई मौलाउन भूमिका खेलेकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
यसअघि पनि वडा नं. ६ बाट कल्पना गोले, बुद्ध गोले, सुकु गोले, सोमो माया गोले, मस्त राम गोले, उर्मिला गोले र नरमान गोले लगायत माओवादीमा प्रवेश गरेका थिए ।
उनीहरूलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सदस्य इन्द्रबहादुर थिङ छिन्ताङले जनताको समस्या र सङ्कटमा माओवादी सधैँ जनतासँगै हुने बताए । ‘गफ गर्ने, उखान सुनाउने वा हावा विकासका योजना सुनाउने अरू पार्टी एमाले हुन् ।’ छिन्ताङले भने, ‘यो देशको र खानीखोलाको समस्या समाधान गर्नका लागि अब सबैले माओवादी केन्द्र रोज्नुपर्छ, माओवादी जनताको समस्या र सङ्कटमा सदैव सँगै हुनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















