नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएपछि सो पार्टीले बागमती प्रदेश संसदीय दलको सचेतकमा काभ्रेका सांसद बसुन्धरा हुमागाईलाई चयन गरेको छ । सोमबार हेटौंडामा बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद हुमागाईलाई सचेतकमा चयन गरेको हो ।
काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुमागाई एकीकृत समाजवादी काभ्रे जिल्ला कमिटीका उपाध्यक्ष समेत हुन् । बागमती प्रदेश संसदीय दलमा एकीकृत समाजवादीको १३ जना सांसद रहेका छन् ।
त्यसैगरी बागमती प्रदेशको संसदीय दलको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । त्यस्तै प्रमुख सचेतकमा मुनु सिग्देल चयन भएको छ । खनाल, सिग्देल र हुमागाई सर्वसम्मत चयन भएको बताइएको छ ।
आइबार बसेको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको थियो । हिजोकै बैठकले मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको समेत निर्णय गरेको थियो ।
Comments