खोलाले बगाउँदा एक बालकको मृत्यु

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ स्थित कालोपुल नजिक रोशी खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । आज मंगलबार विद्यालयबाट फर्किने क्रममा खोलामा पौडी खेल्ने क्रममा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा तेमाल गाउँपालिका वडा नं. ५, कोकाम बस्ने प्रकाश लामाको ८ वर्षिय छोरा अबि तामाङ रहेका छन् । कक्षा ३ मा अध्ययनरत अबि तामाङ बिद्यालयबाट घर तर्फ जाँदै गर्दा रोशी खोलामा पौडी खेल्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको थियो ।

प्रहरीका अनुसार खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली र स्थानियहरुबाट खोजतलासको क्रममा रोशी गाउँपालिका वडा नं. ११ कालढुंङ्गा स्थित खोलाको किनारामा मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार साँझ ५ वजेको समयमा फेला परेकाले लासको कानुन बमोजिम पोष्टमार्टम लगायतको कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments