नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन्। एमालेको बुधबार बुटवलमा आयोजित भेलामा ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन्।

‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन। कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ,’ ओलीले भने। सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ।

उनले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरे। उनले एमालेलाई ध्वस्त पार्न खोजिएको पनि बताए। ओलीले एमालेको भलो चाहने नेता, कार्यकर्ताले पार्टीलाई टुटफुट हुन नदिएर जोगाएको बताए। ‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो। समाप्त पार्न खोजिएको थियो। कब्जा गर्न खोजिएको थियो,’ उनले भने, ‘ध्वस्त पार्न खोजेर केही बच्यो भने प्रतिक्रियावादीका पाउमा चढाउन खोजिएको थियो। तपाईंहरुले पार्टी जोगाउनु भयो। तपाईंहरुलाई धेरै धेरै धन्यवाद।’

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।