काभ्रेको तेमाल गाउँपालिका वडा नं. ७ काल्धार निवासी नेपाली काँग्रेसका पुराना नेता अक्कलबहादुर तामाङ ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. १का तदर्थ समितिका संस्थापक क्षेत्रीय सभापति, पूर्व महासमिति सदस्य, पूर्व गाविस अध्यक्ष समेत रहेका तामाङलाई सभापति शेरबहादुर देउबाले हालै मनोनयन गरेको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख–कष्ठ सहेर अत्यन्त कठिन र प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न सलग्न भई गरेको योगदानको सम्मान गर्दै उनलाई मनोनयन गरिएको काँग्रेसले जनाएको छ ।

‘नेपाली काग्रेसको झण्डामा गोलबद्ध भएर परिवर्तनका हरेक लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरू सहिद हुनु भयो, धेरैले घरबार तथा श्रीसम्पत्ति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनु भयो, तथापि यहाँहरू जस्ता प्रतिबद्ध र समर्पित योद्धाको निरन्तर सहयात्राले नेपाली काग्रेस पार्टी जीवन्त छ ।’ मनोनयन पत्रमा भनिएको छ, ‘नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भएको छ । तपाईको यही निष्ठापूर्ण योगदानलाई कदर गर्दै नेपाली कांग्रेसको नियमावली २०७४ को नियम ५० बमोजिम पार्टीका तर्फबाट ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरी श्रद्धा र उच्च सम्मानका साथ ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।