काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ का वडा सभापति कमल बहादुर वाइबा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वाइबा माओवादी केन्द्रको पार्टी कार्यालय, बनेपामा पुगेर पार्टी प्रवेश गरेका हुन् ।

सो वडाको काँग्रेसको प्रमावशाली नेताको रुपमा परिचित वाइबा स्थानीय तहको निर्वाचनको क्रममा वडा अध्यक्षको उम्मेदवार थिए । वाइबाले २०६ मत ल्याएका थिए । माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष रविन लामाले वाइबालाई जम्मा १२ भोटले जितेका थिए ।
गत सावन ११ गते गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वागत गर्ने गरी प्रवेश कार्यक्रम तय गरेपनि त्यो दिन भने उनी प्रवेश भएका थिएनन् ।

‘अपहरण’ पछि पार्टी प्रवेश
सो दिन माओवादी केन्द्रमा प्रवेश गर्दै छ भन्ने खबर सभासद तिर्थ लामाले थाहा पाउन साथ वाइबालाई जसरी भएपनि बनेपाबाट उठाएर ल्याउन आफ्नो कार्यकर्तालाई निर्देशन दिएका थिए । स्रोतका अनुसार सभासद लामाले महाभारत गाउँपालिका वडा नं. ६ निवासी गुण्डागर्दीमा संलग्न रहँदै आएका विवादित व्यक्ति सागर लामालाई निर्देशन दिएका थिए । सोही अनुसार सावन ११ गते वाइबालाई जवर्जस्ती गाडीमा हालेर काठमाडौं स्थित बालुवाटारमा लगेर राखेका थिए ।

सभासद लामाले माओवादी केन्द्रमा प्रवेश गरेको खण्डमा वाइबालाई ज्यान मार्नेसम्मको धम्की दिई साँझ ५ बजे छोडेका थिए । ‘अपहरण’ मुक्त हुनसाथ वाइबा सिधै माओवादी केन्द्रका नेता तथा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको सम्पर्कमा पुगेका थिए ।
सावन १२ गते वाइबा माओवादी केन्द्रको जिल्ला कार्यालयमा पुगेर विभिन्न नेताहरुको सहभागीतामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । वाइबालाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङ, जिल्ला अध्यक्ष रुकु चौंलागाईं, प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ, जिल्ला सचिवालय सदस्य सुजन लामा, गाउँपालिका अध्यक्ष जिम्बा लगायतले स्वागत गरेका थिए ।

म यसकारण माओवादीमा प्रवेश गरें
वाइबाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । उनीसँगको कुराकानीमा माओवादीको सिद्धान्त र विचार मन परेर आफू माओवादीमा प्रवेश गरेको प्रष्ट पारेका छन् । ‘काँग्रेसको भन्दा धेरै राम्रो विचार, सिद्धान्त माओवादीको रहेछ, त्यहीँ भएर काँग्रेस परित्याग गरें ।’ उनले भने, ‘लोकतन्त्रमा आफूलाई मनपर्ने दल छान्न पाउने अधिकार हुन्छ । मैले त्यहीं अधिकार प्रयोग गरें ।’
आफू जस्तोसुकै दवाब आएपनि काँग्रेसमा फर्किने कुनै सम्भावना नरहेको समेत प्रष्ट पारे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















