माओवादी केन्द्र परित्याग गरि विभिन्न पार्टीमा प्रवेश भएकाहरु माओवादी केन्द्रमै फर्किने लहर चलेको छ । यसैक्रममा मकवानपुर नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने माओवादी केन्द्रमै फर्केका छन् ।

उनी सहित एक दर्जनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

माओवादीबाटै संविधानसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नयाँ शक्तिमा थिए । २०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको एक दिन अघि एमालेमा प्रवेश गरेका थिए ।

आफूहरुबाट नेतृत्वलाई बुझ्ने सवालमा कमजोरी भएको र अहिले ब्यूँझिएपछि आफूहरु माओवादीको मूल प्रवाहमा समाहित हुन आइपुगेको उनीहरुले बताएका छन् ।

प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद सदस्य रमेश रेग्मी (चितवन), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक (चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजन कुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइवा (मकवानपुर), शुसिल ओली (दैलेख) रहेका छन् ।

उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।