काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ५, कालीमाटीका म्हेन्दो तामाङ र कान्छा तामाङको छोरा २४ वर्षिय छोरा विकास तामाङ सुनकोशी नदीमा बेपत्ता भएका छन् । तेमाल गाउँपालिका वडा नं. २ का वडा सदस्य डिल्लीमान तामाङका अनुसार गए राती करिब १२ बजेतिर तामाङले सुनकोशीमा हामफालेको अनुमान छ ।

घरबाट राती ९ बजे साथीको बाइक लिएर तेमाल गाउँपालिका वडा नं. २ स्थित खहरेघाटमा विकास एक्लै गएका थिए । खहरेघाटमा रहेको एक होटलमा रक्सी खाएका विकासले सुनकोशीमा हाम फाल्नु अघि उसको साथीलाई फोन गरेका थिए । विकासका साथीहरु चमार तामाङ र नविन तामाङलाई फोन गरेर आफू मर्न गइरहेको बताइरहेका थिए ।

शुरुमा विकासले आफू कहाँ छ भन्ने कुरा समेत ढाँटेका थिए । कहिले पाँचखाल, कहिले काठमाडौं त कहिले भकुण्डेमा रहेको बताइरहेका थिए । चमार र नविनले उनलाई फोनमा करिब १ घण्टा सम्झाएका थिए । तर उनले मानिरहेका थिएनन् ।

अन्तिममा विकासले आफू खहरेघाटको पुलमा रहेको र सोही पुलबाट हामफालेर मर्न लागेको जानकारी दिइरहेका थिए । ‘हाम्रो भेट अब यति नै हो । म अब मर्छु । सुनकोशीमा हाम फाल्दैछु ।’ उनले आफ्नो साथी नविनलाई भन्दै थिए, ‘मैले तिम्रो बाइक लिएर यहाँ आएको छु । तिम्रो बाइल लिन आउनु, मैले साइडमा राखेको छु ।’

त्यसपछि उनीसँग सम्पर्क टुट्यो । खहरेघाटको पुलको बीचमा विकासले आफ्नो कपडा खोलेर पुलको बीचमा राखेको भेटिएको छ । स्थानीयबासी, पचवारघाट र तेमालबेसी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले खोजी कार्य गर्दा फेला पार्न नसकेको वडा सदस्य तामाङले जानकारी दिए ।

कोहीकसैसँग कहिल्यै झगडा नगर्ने विकास घरबाट निस्किदा घरका कसैलाई पनि थाहा थिएन । उनको श्रीमती, एक छोरा, एक छोरी रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।