नेकपा (एकीकृत समाजवादी)का वागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंले एमाले र सूर्य चिन्ह बेचेर खाने मात्रै एमालेमा रहने आरोप लगाएका छन् । मण्डनदेउपुर नगरपालका वडा नं. १ को वडा कमिटीको विस्तारीत बैठक तथा जनसंगठन गठन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हुमागाईंले उक्त आरोप लगाएका हुन् ।
सांसद हुमागाईंले एमाले व्यपारीको हातमा पुगेको टिप्पणी गर्दै जनताको पार्टी नेकपा (एकीकृत समाजवादी) मात्रै रहेको दावी गरे । ‘एमाले अब ब्यापारीहरूको हातमा पुगेको छ । जनताको पार्टी नेकपा (एकीकृत समाजवादी) मात्रै हो ।’ हुमागाईंले भने, ‘पद बाँड्दै हिँडेर पार्टी जनमुखी हुँदैन । पद बाँड्दै हिँडेर पार्टी बलियो पनि हुँदैन । अहिले एमालेका जिम्मेवार साथीहरू एउटै वडाका कयौँ ब्यक्तिलाई एउटै पद बाँढी रहेका छन् । एमाले र सूर्य चिन्ह बेचेर खाने मात्रै एमालेमा रहन्छन् ।’
कार्यक्रममा उनले जिल्लामा एमाले चौथो दल हुने ठोकुवा गर्दै काभ्रेको १३५ वटै वडामा वडा कमिटी निर्माणको काम तीव्र गतिमा भैरहेको कार्यकर्ताहरुलाई जानकारी दिए । ‘एमाले अब काभ्रे जिल्लामा चौथो दल बन्ने छ ।’ उनले भने, ‘चिन्ह प्राविधिक कुरा हो, मुख्य कुरा विचार, सिद्धान्त, विधि, पद्धति हो । त्यसैले चिन्ह मात्रै ठूलो कुरा होइन । एमाले भन्दा हामी गुण र संख्इका हिसाबले बलियो छौँ ।’
कार्यक्रममा सांसद हुमागाईंले आफु एमाले पार्टी र सूर्य चिन्हबाट निर्वाचित भएको भन्दै गलत मान्छेको हातमा पार्टी नेतृत्व पुगेकोले एमालेलाई सुद्धिकरण, सुदृढिकरण र पुनर्गठन गरेको उनको तर्क थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















