नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रदेश १ र बागमतीमा छिट्टै हाम्रो समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ। तपाईहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु।’
प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पार्टीको सशक्त उपस्थिति रहेको दाबी गरे। आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे।
एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै ‘हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो ? भन्ने प्रश्न समेत गरे। पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको हो? उनले प्रश्न गरे।
अध्यक्ष नेपालले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो। यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसञ्चो भएको मान्छेले? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचाेरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन कराउनुपर्ने स्थिति बनेको छ संसदमा?’
सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत उनले गरे।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















