मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ११ बाट गाई काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार जिल्ला प्रहरी कार्यालय र हात्तिसुँढे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीले २ जना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सञ्चमाया ब्लोन, फुलमाया थिङ, सन्देस विक, जनक बहादुर लो, प्रल्हाद भक्त न्यासुर, सोमबहादुर तामाङ, राजकुमार घलान, सोमार ब्लोन, रवीन्द्र लो र पम्पराज लो रहेका छन् ।

संविधानमा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ । तर गाई काटेर वा कालगतिले मरेपछि विभिन्न समुदायले गाईको मासु खाने चलन भने परापूर्व कालदेखि नै चल्दै आएको छ ।

नेपालमा रहेको विभिन्न आदिवासी जनजाति समुदायको संस्कार अनुसार गाईको फिला, टाउको प्रयोग गर्ने चलन समेत छ ।

छिमेकी मुलुक भारतमा समेत गाईको मासुको बजार नै रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।