काभ्रे जिल्ला स्थित नेपाली काँग्रेसको स्थानीय तहको अधिवेशन अनिश्चित कालको लागि स्थगित भएको घोषणा गरेको छ । काँग्रेस काभ्रेका सभापति मधु आचार्यले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै भोलि हुने गाउँ।नगर अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।
सूचनामा सभापति आचार्यले अधिवेशनका लागि खटिएको निर्वाचन अधिकृत राजेन्द्र लामिछाने विना सूचना बेपत्ता भएको र मतदाता नामावली पनि सार्वजनिक नभएको भन्दै अधिवेशन स्थगित गरेको जनाएको छ ।
यता पार्टीको जिल्ला सचिव दिनेश लामाले भने अधिवेशन स्थगित नभएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत नै सचिव लामाले उक्त जानकारी दिएका हुन ।
‘जिल्ला निर्वाचन अधिकृत राजेन्द्र कुमार लामिछानेको अनुसार नेपाली कांग्रेस काभ्रेको भोलि हुने १३ वटै स्थानीय तहको अधिबेशन स्थगित नभएको व्यहोरा जानकारी गराइन्छ ।’ लामाले लेखेका छन् ।
सभापति आचार्यले जारी गरेको सूचना यस्तो छः
नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिनुभएका निर्वाचन अधिकृत श्री राजेन्द्र लामिछाने विना सूचना बेपत्ता हुनुभएको, मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोली हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्वद्ध सबै साथीहरुलाई जानकारी गराइन्छ ।
जय नेपाल ।
मधु आचार्य
सभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमिति
काभ्रेपलान्चोक

Comments

comments