कांग्रेसले काभ्रेको १३ मध्ये १२ वटा स्थानीय तहमा अधिवेशन सकाएको छ । जसमा पूर्व जिल्ला सभापति शिव हुमागाई समूहले बर्चस्व कायम राखेको छ । सभापति मधु आचार्य समूहको कन्तबिजोग देखिएको छ ।
असोज ५ गते सकिएको वडा अधिवेशनबाटै निर्वाचित प्रतिनिधिका आधारमा तर्सेको आचार्य प्यानलले पालिका अधिवेशनको पूर्वसन्ध्या शुक्रबार अधिवेशन नहुने भन्दै प्रोपोगाण्डा मच्चाएको थियो । राति अबेर निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले कुनै कारणले अधिवेशन नरोकिने जवाफ दिएपछि महाभारत गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा अधिवेशन सकिएको छ ।
पालिका अधिवेशनबाट पूर्व सभापति हुमागाई प्यानलले स्पष्ट बहुमत हासिल गरेको छ । शनिबार भएको १२ वटा स्थानीय तहको अधिवेशनमा शिव हुमागाईं प्यालनबाट पनौती नगरसभामा रामशरण भण्डारी, नमोबुद्ध नगरसभापतिमा कुन्साङ लामा, भुम्लु गाउँपालिका सभापतिमा दावा लामा, रोशी गाउँपालिका सभापतिमा दूधराज लामा र चौरीदेराली गाउँपालिका सभापतिमा शेर बहादुर तामाङ सर्बसम्मत निर्वाचित भएकाछन ।
मधु आचार्य प्यानलबाट पाँचखाल नगरसभामा सञ्जय तामाङ र खानीखोला गाउँपालिका सभापतिमा दोर्जे जिम्बा मात्रै निर्विरोध निर्वाचित हुनुभएको छ । बेथानचोक गाउँपालिका सभापतिमा मधु आचार्य प्यानलका मछिन्द्र कुमार लामालाई पछि पार्दै हुमागाई प्यानलका प्रेम बहादुर तिमल्सिना विजयी भएका छन ।
तेमाल गाउँपालिका सभापतिमा आचार्य प्यानलका हेमलाल लामालाई पछि पार्दै हुमागाई प्यानलबाट ज्ञान बहादुर लामा विजयी भएका छन । ज्ञान बहादुर तामाङले १४४ मत पाएर विजयी भएका हुन भने हेमलाल तामाङ १४ मत मात्रै प्राप्त गर्नुभएको छ । ४ मत बदर भएको छ ।
धुलिखेल नगरपालिकामा पनि हुमागाई प्यानलका बिदुर बहादुर बस्नेत नगरसभापतिमा निर्वाचित हुनुभएको छ । आचार्य प्यानलका मञ्जु कुमार कोजु पराजित भएका छन । धुलिखेलमा बस्नेत १२२ मत पाउँदा कोजुले ८५ मत प्राप्त प्राप्त गतेका थिए भने ८ मत बदर भएको थियो ।
बनेपा नगरपालिकामा एक मत अन्तरले शिव हुमागाईं प्यालनबाट महेश कुमार कर्माचार्य विजयी भएका छन । आचार्य प्यानलका शान्ति रत्न शाक्य पराजित भएका छन ।
जिल्लाको सबैभन्दा बिकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा अधिवेशन स्थगित गरिएको छ । मतदान अधिकृतले अर्को सूचना जारी नहुँदासम्म निर्वाचन स्थगित गरिएको बताएका छन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।