काभ्रेको १२ वटा स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएपनि महाभारत गाउँपालिकाको अधिवेशन भने अझै अनिश्चित भएको छ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको व्यक्तिलाई सभापतिको उम्मेवार बनाएपछि विवाद झन् चर्केकोले काँग्रेस अधिवेशन अनिश्चितता तिर धकेलिएको हो ।
काभ्रेमा गुण्डा र अपराधिक कृयाकलापमा संलाग्न व्यक्तिहरुको कब्जामा पार्टी पुगेको आरोप लाग्दै आएको अवस्थामा महाभारत गाउँपालिकामा पनि यसै विषयलाई लिएर विवाद भएको बताइएको छ । काँग्रेस केन्द्रिय सदस्य शिव हुमागाईं र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सभापति सभासद तिर्थ लामाले विभिन्न अपराधिक क्रियाकलापमा लागेको व्यक्तिलाई सभापतिको उम्मेदवार बनाएकोले समस्या उत्पन्न भएको एक काँग्रेस कार्यकर्ताले बताएका छन् ।
हुमागाईं र लामाले लावाङ भनिने विशाल पाख्रीनलाई सभापतिको उम्मेदवार बनाएपछि विवाद झन् चर्केको हो । स्थानीय कार्यकर्ताहरुले नकारात्मक पृष्ठभूमि भएका लावाङलाई उम्मेदवार नबनाउन गरेको अनुरोध समेत हुमागाईं र लामाले अस्वीकार गरेपछि कार्यकर्ताहरु आक्रोशि भएका छन् ।
‘काँग्रेसको ऐतिहासिक विरासतलाई नामेट पार्ने कुत्सित प्रयास स्वरुप लावाङ जस्तो अपराधिक पृष्ठभूमि भएको व्यक्तिलाई उम्मेदवार बनाएको रहेछ ।’ काँग्रेसका एक कार्यकर्ताले भने, ‘हामी कुनै हालतमा त्यस्ता व्यक्तिलाई सभापति स्वीकार्न सक्दैनौं । गुण्डा र अपराधि मुक्त काँग्रेस बनाउन चाहन्छौं । जनताको प्यारो पार्टी बनाउन चाहन्छौं ।’
यता मधु आचार्य गुटको तर्फबाट महाभारत गाउँपालिकाको गाउँ अधिवेशनमा सागर मोक्तानलाई सभापतिको उम्मेदवार बनाउने तयारीमा लागेको बुझिएको छ ।
लावाङ अहिले पनि तारिख धाउछन्
२०७६–०२–१७ गते बारा जिल्लाको पथलैयाको जङ्गलमा लुटपाट तथा चोरीको अभियोगमा प्रहरीले ७ जना व्यक्ति पक्राउ गरिएको थियो । उक्त ७ जना अभियुक्त मध्यका एक जना लावाङ हुन् । उनी महाभारत गाउँपालका वडा नं. २ निवासी हुन् ।
लावाङको उक्त ग्याङलाई प्रहरीले पक्राउ गरी २०७६–०३–१६ गते पूर्पक्षको लागि जेल पठाइएको र ६ महिना थुनामा रहि ५० हजार धरौटी बुझाएर छुटेका थिए । उक्त मुद्दाको उनले अहिले पनि तारिख धाइरहेका छन् ।
लावाङलाई सभापति बनाउन स्थानीय काँग्रेस नेता रामबहादुर योञ्जन लागिरहेको बुझिएको छ । आफ्ना नेताद्वय तिर्थ लामा र शिव हुमागाईंको ठाडो निर्देशनमा लावाङलाई सभापति बनाउन स्थानीय स्तरमा योञ्जन लागेको बताउँछन् ।
काँग्रेसमा युवा नेतृत्व आएको भन्दै खुशीयाली मनाएपनि सभापतिमा निर्वाचित भएकाहरुको पृष्ठभूमि न त राजनीतिक छ न त सामाजिक खालको छ भन्दै आलोचना समेत हुन थालेको छ । पार्टीमा लामो समयदेखि लागेको र पार्टी निर्माणमा निक्कै योगदान भएकाहरु पार्टीको मूल थलोबाट बाहिर रहेको चर्चा हुन थालेको छ । अराजनीतिक भिड र व्यक्तिगत स्वार्थको लागि मात्र पार्टीमा लागेकाहरुको वर्चस्व कायम भएपछि पराना र काँग्रेस निर्माणमा जीवन नै दिएकाहरुले भने चिन्ता गर्न थालेका छन् ।