नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका प्रमुख सचेतक बसुन्धारा हुमागाईले २ वटा प्रदेशमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताएका छन् । प्रदेश सरकारको नेतृत्वबारे गठबन्धनका केन्द्रीय नेतृत्वले टुङ्ग्याउने भएपनि दुईवटा प्रदेशमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने उनको दावी छ ।
उनले केन्द्रीयस्तरमै प्रदेश सरकारका बारेमा छलफल भइरहेको बताए । उनका अनुसार प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने छ । गठबन्धनमा रहेका प्रमुख ३ दलले २÷२ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने र एउटा प्रदेशमा जसपा नेतृत्वको सरकार रहने गरी केन्द्रीय गठबन्धनमा छलफल जारी रहेको उनको भनाइ छ ।
सोही अनुसार बागमती प्रदेश र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीले पाउने उनले बताए । ‘बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेको मेरो जानकारीमा छैन ।’ उनले भने, ‘केन्द्रीय नेतृत्वले निर्णय लिने विषय भएकाले बजारमा आएका हल्लामा कुनै सत्यता छैन ।’
केन्द्रीय नेतृत्वले गरेको निर्णय सबैलाई मान्य हुने भन्दै हुमागाईले दसैँ अगाडि नै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार विस्थापित हुने दाबी गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















