एमालेका वागमती प्रदेश कमिटी सदस्य कान्छामान तामाङ (रक्तिम)ले विधान महाधिवेशनमा ५ बुँदे सुझाव पेश गरेका छन् । नेकपाबाट अदालतले माओवादी र एमालेलाई पुरानै अवस्थामा फर्काएपछि माओवादी आन्दोलनमा लामो समयसम्म क्रियाशिल रहेका रक्तिम एमालेमै रहेका थिए ।
काठमाडौंमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा आफ्नो समूहमा उनले वागमती प्रदेश कमिटीबाट उक्त सुझाव पेश गरेका हुन् ।
नेकपा एमाले पुरानै बिरासतको पार्टी नभइ नेकपा एमाले र माओवादी केन्द्रबिच एकीकरण भएर निर्माण भएका नेकपाकै जगमा प्रतिबद्ध हुनुपर्ने उनको सुझाव छ । उनले माओवादी जनयुद्धको समेत सकारात्मक मुल्यांकन गर्न सुझाएका छन् ।
यस्तो छ उनले पेश गरको ५ बुँदे सुझावः
नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रथम बिधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिबेदनमा समेट्नु पर्ने केही बुँदाहरुलाई लिखित रुपमा पेश गरेको छु ।
१) जन आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन लगायत आन्दोलनहरुमा सहिद भएकाहरुको समान मुल्यांकन हुनु पर्ने ।
२) गणतन्त्र, सङ्घियता, धर्म निरपेक्षता, समानुपातिक र समाबेशी लगायत राज्यको पुनर्संरचनामा जनयुद्धको पनि बिशेष भुमिका रहेको वस्तुगत तथ्यलाई उल्लेख गर्नु पर्ने ।
३) नेकपा एमाले मुलधारको कम्युनिस्ट पार्टी हुन् । यदि यो मुलधारको कम्युनिस्ट पार्टीको रुपमा स्थापित छन भने यसले सबै प्रकारका वामपंथी र न्यायिक आन्दोलनहरुको भुमिकालाई नकार्न मिल्दैन ।
४) जनताको बहुदलीय जनवादलाई सिद्धांतको रुपमा उल्लेख गरेको देखिन्छ जबकी यो जनवादी सत्ता प्राप्तिको निम्ति अङ्गिकार गर्ने कार्यक्रम हुन् यसलाई सिद्धान्तको रुपमा होइन कार्यक्रमकै रुपमा अझ बढी समृद्ध पार्नु पर्ने देखिन्छ ।
५) नेकपा एमाले पुरानै बिरासतको पार्टी होइन यो नेकपा एमाले र माओवादी केन्द्रबिच एकीकरण भएर निर्माण भएका नेकपा नै हुन् । नेकपाकै जगमा प्रतिबद्ध हुनुपर्छ । अर्थात नेकपाले स्थापित गरेका जनताको जनवाद र त्यसको जगमा ‘सुखी नेपाली समृद्ध नेपाल’ अर्थात समाजवाद प्राप्तिको दिशामा प्रतिबद्ध हुनुपर्छ । त्यो समृद्ध समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण जन संघर्षलाई मात्र होइन बल प्रयोगको सिद्धान्त जुन माक्र्सवादको अनिवार्य शर्त हुन त्यसलाई पनि स्वीकार गर्नु पर्छ ।
कान्छामान लामा तामाङ (रक्तिम)
बागमती प्रदेश कमिटी काभ्रे
काभ्रे (२०७८।६।१६ गोदावरी ललितपुर)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















