नेकपा एमालेका  पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

को हुन् इच्छाराज तामाङ ?

नेकपा (एमाले) बाट राजनीतिक संरक्षण प्राप्त गरेका तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् । उनलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए । यसरी उनले राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत बनाएका थिए ।

इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले उनले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका थिए । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको थियो ।

सिभिल ग्रुपभित्र विभिन्न ९ वटा कम्पनी छन् । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा छ ।

व्यापारिक साम्राज्य विस्तार गर्न खोजेका तामाङ अधिकतर समय विवादित रहे । तर, राजनीतिक आड र दबाबमा जोगिइरहे । सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार रहेका थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए । राजनीतिक आडभरोसाकै कारण उनीविरुद्ध केन्द्रदेखि प्रदेश सरकारसम्मले बचतकर्ताको हितमा कदम चालेको थिएन । नियामक सरकारी निकाय पनि मौन थियो ।

उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।

उनले सिभिल सहकारीको अध्यक्षमा मामाससुरा केशवलाल श्रेष्ठलाई नियुक्त गर्न सफल भएका थिए । सिभिल ग्रुपको नेतृत्वमा आफू र आफन्तको जालो फैलाएका उनले ललितपुरको सुनाकोठीमा सिभिल होम्स–३ बनाउने भन्दै रकम असुलेका थिए । तर, उपभोक्तालाई रितपूर्वक परियोजना हस्तान्तरण नै गरेका थिएनन् । उल्टै, संरचनामा ताला लगाउने र दुःख दिने गरेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ माघ ९ गते तामाङको सम्पत्ति रोक्का गरेको थियो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नै भेटिएको थिएन । विभिन्न २४ वटा कम्पनीमा तामाङको संलग्नता भेटिएको थियो ।

सिभिल सहकारी संस्थाको ऋण विवादमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला गराउन पनि तामाङले निकै चलखेल गरेका थिए । शेयर सदस्यले हालेको मुद्दा असफल बनाउन तामाङ आफैँ फुटकर निवेदन लिएर पुगेका थिए भने मामाससुरा श्रेष्ठलाई पनि मुद्दा हाल्न लगाएका थिए ।

उम्कन नसक्ने स्थिति बनेपछि उनले आफ्ना केही सम्पत्ति बेचेर ऋण तिरेका थिए । तर, धेरै बचतकर्तालाई उनले बिल्लिबाठ नै पारेका छन् । -राताेपाटीबाट

Comments

comments