काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन र स्वास्थ्य चौंकीको नवनिर्मित भवन निर्माण सम्पन्न भएको छ । दुवै भवन एक कार्यक्रमका बीच शुक्रबार नगर प्रमुख टिपी शर्माले उद्घाटन गरेका छन् ।

वडा कार्यालयको भवन र पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको नगर प्रमुख शर्माले एकै दिन उद्घाटन गरिएको हो । सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको नमोबुद्ध नगरपालिकाले करिब ७५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरेको बताइएको छ । दुई तल्ले पक्की भवनमा वडा कार्यालय सञ्चालन भएसँगै अब उक्त वडाका बासिन्दालाई वडाबाट पाउने सेवा लिन थप सहज हुने भएको छ ।

यस्तै करिब ३६ लाख रुपैयाँको लागतका पुरानागाउँ स्वास्थ्यचौकीको भवन निर्माण गरिएको हो । नमोबुद्ध नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँ र बाँकी रकम वडा कार्यालयमार्फत स्वास्थ्य चौकी निर्माण गरिएको छ । स्वास्थ्यचौकीको भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो भने वडा कार्यालय निर्माणको जिम्मा युनिक बिल्डर्स नमोबुद्ध ९ ले पाएको थियो ।

वडा कार्यालय भवनका लागि समाजसेवी रामकृष्ण श्रेष्ठले १० आना १ पैसा १ दाम जग्गा निःशुल्क उपलव्ध गराएका थिए भने स्वास्थ्य चौकीका लागि स्वर्गीय अक्कलवहादुर तामाङ, इन्द्रपसाद घोरसाइने र सानुकान्छी तामाङले ४ आनाका दरले निःशुल्क जग्गा प्रदान गरेका थिए ।

वातावरण मैत्री नगर बनाउने प्रतिबद्धता

कार्यक्रममा नगर प्रमुख शर्माले आफूहरुले गरेको विकसा निर्माण कार्यको मुल्यांकन जनताले गर्ने बताए । ‘हाम्रो कार्यकालमा कति विकास निर्माणका कार्य भए त्यसको मुल्यांकन जनताले गर्नुहुनेछ’ नगर प्रमुख तिमल्सिनाले भने, ‘हामी एकतावद्धरुपमा नगरको विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लागिपरेका छौं ।’

नगरका सबै वडामा अपांगमैत्री, वातावरणमैत्री र बालमैत्री वडा कार्यालय भवन र स्वास्थ्यसंस्थाको भवन निर्माण यही आर्थिक बर्षमा पुरा हुने तिमल्सिनाले जानकारी दिए । खानेपानी र सडक पनि नगरको प्रमुख प्राथमिकतामा परेको र सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण, एक घर एक धारा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । नगरकै दुईवटा टोल वातावरणमैत्री घोषणा गरेको र सिंगो नगरलाई वातावरणमैत्री नगर बनाउन आफूहरु लागिपरेको उनले बताए ।

निर्माण भएको संरचनाको सदुपयोग गर्नुपर्नेमा जोड

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले नमोबुद्ध नगरपालिकाले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाएको र सोहीअनुसार वडा कार्यालय तथा स्वास्थ्यसंस्थाका भवन निर्माण गरिएको बताइन् । उनले निर्माण भएका संरचनाको सदुपयोग गर्नसमेत सबै सरोकारवालालाई आग्रह गरिन् ।

‘अझ प्रभावकारी सेवा दिनेछौं’ –वडा अध्यक्ष अधिकारी

यसैबीच वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारीले सबै सरोकारवालाको साथ र सहयोगबाट वडा कार्यालयको भवन तथा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको बताउँदै जग्गादाताहरु र अन्य सहयोगीप्रति आभार प्रकट गरे । भवन निर्माणसँगै समग्र वडाको विकासका लागि आफूहरु क्रियाशिल रहेको भन्दै उनले वडा र स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह अझै प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।

जग्गादान गर्नेलाई सम्मान

कार्यक्रममा वडा कार्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरिएको थियो । यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रेस सल्लाहकार विनोद न्यौपाने, वडा कार्यालय निर्माण गर्ने युनिक विल्डर्सका देवराज लामा, नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्ले, इन्जिनियर बिमल कार्की, समाजसेवी टिकावहादुर तामाङ, पुरानागाउँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी निर्माण उपभोक्ता समिति लगायतलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जग्गादाता रामकृष्ण श्रेष्ठका छोरा श्रीकृष्ण श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं. ५ का अध्यक्ष बुद्धसिं तामाङ, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष केदारप्रसाद अधिकारी, समाजसेवी टिकावहादुर तामाङ, माओवादी केन्द्रका नेता हरि तिमल्सिना, वडा सचिव विरेन्द्र रावल, पुरानागाउँ स्वास्थ्यचौकी इन्चार्ज कल्पना अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सचालन जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारीले सञ्चालन गरेका थिए ।

Comments

comments