सिन्धुली जिल्लाको घ्याङलेक–४, मझुवामा अबस्थित ऐतिहासिक तामाङ गुम्बा टाशी दार्गेलिङमा धर्मगुरु खेन्पो मुन्सेल दोर्जेको उपस्थितिमा तीन दिने न्युङने कार्यक्रम सम्पन्न भएको छ । दशैंको बेलामा बलि चढाइने हजारौं पशुपंक्षिहरुको मुक्तिको कामना गर्दै हिमाली तथा पहाडी भेगका बौद्धमार्गीहरु विना आहार विहार मौन बसी न्युङने साधना गर्ने गर्छन् ।
न्युङने समापनको अबसरमा उपस्थित साधक साधिकाहरु लगायत सिन्धुलीको विभिन्न भेग, काभ्रे, सर्लाही आदि जिल्लाहरुबाट आएका भक्तजनहरुलाई गुरु खेन्पो मुन्सेल दोर्जेले वाङ प्रदान गरेका थिए । उक्त अबसरमा प्रबचन दिंदै उनले बलि एबं हिंसाले क्षणिक आनन्द लिनु सकिएला तर हिंसाले कहिले पनि पुन्य एबं शान्ति प्राप्त गर्न नसकिने बताए । उनले न्युङने बस्नाले बलि चढाइएका पशुपंक्षीहरुको मुक्ति मिल्ने साथै साधक साधिकाहरुलाई अथाह पुण्य मिल्ने प्रष्ट पारे ।
पुनःनिर्माणाधीन यस गुम्बालाई दान सहयोग गरि यस ऐतिहासिक धरोहरको संरक्षण गरि आफू अनि आउने पुस्ताको लागि पुन्य सन्चय गर्न आग्रह गरे ।
उक्त अबसरमा घ्याङलेख–४ वडाअध्यक्ष चक्र पाख्रिनले तामाङ बाहुल्यता रहेको यस भेगमा अन्य धर्म संस्कार संस्कृतिको प्रभाब बढ्दै गएकोले बेलैमा सचेत भइ हाम्रो धर्म संस्कार संस्कृति संरक्षण नगरे लोप हुंदैजाने खतरा रहेको बताए । सदियौंदेखि यस गुम्बाका लामाहरुले यस भेगको जनतालाई सेवा पुर्याउदै आएको बताउँदै उनले यस गुम्बा पुनःनिर्माणको लागि गत बर्ष रु. १४ लाख र यसपालि रु. ८ लाख बजेट विनियोजन गरिएको बताए ।
तीनदिने उक्त न्युङनेमा सयौंको संख्यामा साधक साधिका एबं भक्तजनकहरुको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















