नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काभ्रेमा आएर ‘७० करोड’ को चर्चा गरेका छन् । शनिबार एकीकृत समाजवादी धुलिखेल नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो चर्चा गरेका हुन् ।

एमाले नेता गोकुल बाँस्कोटाको ‘७० करोड’ घुस प्रकरणलाई र्इंगित गर्दै झाँक्रीले सम्पूर्ण विकास त्यसैको पछि लगाएको बताए । पूर्व प्रधानमन्त्री केपी ओलीले विकासको जति नै चर्चा गरे पनि योजनाको अधिकारीक कागजात मन्त्रालयमा नभेटिएको र सस्तो लोकप्रियताको लागि मात्रै विकासको हौवा पिटको झाँक्रीको दावी थियो ।

‘७० करोडको चर्चा त काभ्रेमा गर्नै पर्दैन, देशव्यापी चर्चा छँदै छ ।’ मन्त्री झाँक्रीले भने, ‘ओली नेतृत्वको सरकारले योजनाको प्रचार जति गरेपनि मैले कुनै पनि योजनाको आधिकारीक कागजात मन्त्रालयमा भेटिएन । ७० करोडको पछि हिंडाइए छ विकास र योजना ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुहरु एमालेबाट फुटेको नभई विद्रोह गरेर नयाँ पार्टीको स्थापना गरेको बताए ।

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी ओलीको चरित्रमा लोकतन्त्र भन्ने नभएको समेत बताए । ‘ओलीको जीवनमा लोकतन्त्रको असल अभ्यास कहि कतै भेटिदैन ।’ उनले भने, ‘ओलीले पार्टी सिद्धान्त, पद्धति खोज्नेलाई दुश्मन ठान्ने र आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखेको छ । ओलीले आफ्नै बहुमतको सरकार हुँदासमेत सुशासनभन्दा कुशासन दिने काम गरेको थियो ।’

कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताए ।

‘मैले पाएको जिम्मेवारीलाई जनभावनाअनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु ।’ उनले भने ‘वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने छ ।’

प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले आफुहरु ओली जस्तो गिनिज बुकमा नाम लेखाउन नभई जनताको काम गर्न हिडेको बताए ।

कार्यक्रममा नेकपा एस बागमती प्रदेशका सचेतक तथा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईंले आफ्नो पाटी अब मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने ठोकुवा गरे ।

Comments

comments