काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ स्थित घ्याङडाँडामा अस्पताल, बृद्धाश्रम, विद्यालय र गुम्बाको एकै साथ शिलान्यास गरिएको छ । ताग्लुङ काग्यु टाशी पाल फाउण्डेशनले निर्माण गर्न लागेको उक्त परियोजनाको बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेल र धर्म गुरु गुरु खेन रिम्पोचे जे साम्तेन ड्रोडुल दोर्जेले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडलले परियोजना शुरु भएकोमा खुशी व्यक्त गर्दै रोशी गाउँपालिकाको थप विकास हुनेमा विश्वास व्यक्त गरे । ‘परियोजना थाल्ने काम गरेकोमा खुशी लागेको छ । यो पर्यटकीय ठाउँ हो, ऐतिहासिक ठाउँ पनि हो । राजनीतिक आन्दोलनको अभियानमा यो ठाउँमा हिंडेको छु ।’ पौडेलले भने, ‘यो परियोजनाले यहाँको थप विकास हुनेछ भन्नेमा विश्वास लिएको छु । स्वस्थ्य, शिक्षा रोजगार खाद्यान्न जस्ता आधाभूत विषयलाई सरकारले प्राथमिकतामा राखेको छ ।’

सो क्रममा उनले यो ठाउँको विकासको निम्ति आफू सधैं जनताको साथमा हुने प्रतिबद्धता जाहेर गर्दै आन्तरिक पर्यटन र बाह्य पर्यटनको विकास हुने बताए ।

उनले टीमबद्ध रुपमा अगाडी बढेर मात्र विकास सम्भव भएको बताउँदै परियोजना अघि बढाउँदा प्रशासनीक समस्या आए आफूले सहयोग गर्ने बताए । ‘शिक्षा स्वास्थ्य, पर्यटन प्रणाली सुधार गर्नुपर्छ । टिमबद्ध भएर अगाडि बढ्नुहोस् । त्यसो भए यस ठाउँले थप प्रगति गर्ने छ । तपाईंले अगाडि बढाउने हरेक काममा निरन्तर सघाउने छु ।’ मन्त्री पौडेलले भने, ‘जमिन, प्रशासनिक, सम्बन्धन, बृद्धाश्रमलाई पर्ने प्रशासनिक समस्याको साथमा रहेर समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दछु । म धर्म गुरुसँगै यो परियोजनामा हुन्छु ।’

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वजले परियोजना ल्याउने गुरुलाई धन्यवाद दिंदै परियोजना सफल बनाउन जुनसुकै मूलय चुकाउन आफू तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले आफूहरु निरन्तर ३ वर्ष लागेपछि यो संरचना निर्माणको शुरुवात भएको बताउँदै चाँडै नै निश्कर्षमा पुग्नेमा विश्वास व्यक्त गरे ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिं मुक्तानले तीन वटा गाउँपालिकाको संगम स्थलमा बन्न लागेको यो परियोजनाले पर्यटकीय दृष्टिले आकर्षण केन्द्रविन्दु बन्नेमा विश्वास गरे ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधकिृत परशुराम थापाले यो परियोजनाले गाउँपालिका नै पवित्र भएको बताए ।

रोशी गाउँपालिका वडा नं. १२ का वडाल अध्यक्ष रामबहादुर तामाङले यो परियोजनाले यहाँको शैक्षिक, सामाजिक, स्वास्थ्य, धार्मिक विकास भएर पर्यटन विकासमा टेवा पुग्ने बताए । वडा अध्यक्ष तामाङले निर्माण सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न शिक्षा मन्त्री पौडेल र सांसद बमध्वजलाई अनुरोध समेत गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।