राष्ट्रिय जनगणना–२०७८ काभ्रेमा आजबाट शुरु भएको छ । जिल्ला भरि नै उत्साहपूर्ण ढंगले जनगणना शुरु भएको जिल्ला जनगणना अधिकारी दिपक कोइरालाले पत्रकार सम्मेलन मार्फत बताएका छन् ।
जिल्ला जनगणना अधिकारी कोइरालाले गणकहरु बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म गणकहरुले काम गर्ने बताए । ५५ वटा प्रश्नावली पुरा गर्न २५ देखि ३० मिनेटसम्म लाग्ने बताउँदै जनगणना अधिकारी कोइरालाले अधिकांश गणकहरु स्थानीय भएकोले यो पटकको तथ्यांक वास्तविक र गुणस्तरीय आउनेमा आफुहरु विश्वास्त रहेको बताए ।
कोइरालाले घरमा आउने गणकहरुलाई आफ्नो विवरण टिपाएर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । ‘हामीले यो पटक निकै उर्जाशील युवा गणकहरु पाएका छौं । जसले गर्दा गुणस्तरीय तथ्यांक आउनेमा हाम्रो कार्यालय विश्वास्त छ ।’ उनले भने, ‘अघिल्लो पटकको जनगणनाहरुमा अधिकांश शिक्षकहरु परिचालित हुन्थे । आफ्नै घर वा वल्लो डाँडामा बसेर प्रश्नावली भर्ने र त्यसैको आधारमा तथ्यांकको विश्लेषण गरिन्थ्यो । तर यो पटक पहिलेको जस्तो पटक्कै हुने छैन् । हामीले गणक र सुपरीवेक्षकहरुलाई निकै मेहेनतका साथ तालिम दिएर फिल्डमा खटाएका छौ ।’
यसैबीच पत्रकार सम्मेलनमा प्रमूख जिल्ला अधिकारी शिवराम पोखरेलले यो पटक अघिल्लो दश वर्ष अघिको त्रृटि नदोहोरिने दाबी गरे । प्रमूख जिल्ला अधिकारी पोखरेलले यो पटक काभ्रे जिल्लाको यर्थाथपरक तथ्यांक आउनेमा ढुक्क हुन आग्रह गरे । घर घर पुगेर संकलन गरिने सबै विवरण गोप्य भएकाले निर्धाक्कसँग गणकले सोधेको प्रश्नको जवाफ दिन प्रजिअ पोखरेलले आग्रह समेत गरे ।
नेपालको संघीय संचनापछि यो पहिलो जनगणना हो भने यो जनगणना १२ औँ हो । नेपालमा पहिलो पटक विक्रम सम्बत १९६८ सालमा जनगणना गर्न सुरु गरिएको थियो ।
पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार जिल्लाभर ५ सय ११ जना गणक फिल्डमा खटिएका छन् । त्यस्तै १२७ जना सुपरीवेक्षक परिचालित छन् ।
जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेसी, कटुन्जेबेसी र भुम्लु गाउँपालिकामा गरी ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । गणकहरु घर घरमा पुग्ने छन् । आजबाट सुरु भएको तथ्यांक संकलनको काम मंसिर ९ गते सकिने छ ।
यसअघि भदौ ३० गतेदेखि असाजे १८ गतेसम्म घर तथा घर परिवार सूचीकरण गरिएको थियो ।
गणकहरुले फिल्डमा भरेको फारम जिल्ला जनगणना कार्यालयले मंसिर १० देखि १४ गतेसम्म संकलन गरिसक्नेछन् । जिल्लाको ६ वटै स्थानीय जनगणना कार्यालय मंसिर १५ गते बन्द हुने छ । मंसिर १९ गतेदेखि २८ गतेसम्म जिल्ला जनगणना कार्यालय काभ्रेले फिल्डमा भरिएका फारम संकलन गरेर तथ्यांक विभागमा पठाउने छ ।
सबैभन्दा बढी सुपरीवेक्षक पनौती नगरपालिकामा १७ जना छन् । त्यहाँ ६७ जना गणक रहेका छन् । सबैभन्दा बढी गणक बनेपा नगरपालिकामा ८९ जना रहेका छन् भने सुुपरीवेक्षक १५ जना रहेका छन् । धुलिखेल नगरपालिकामा ११ जना सुपरीवेक्षक र ४६ जना गणक, बेथानचोक गाउँपालिकामा ५ जना सुपरीवेक्षक र २० जना गणक, पाँचखाल नगरपालिकामा १४ जना सुपरीवेक्षक र ४९ जना गणक रहेका छन् ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकामा १२ जना सुपरीवेक्षक र ४४ जना गणक, भुम्लु गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २७ जना गणक, चौरीदेउराली गाउँपालिकामा ८ जना सुपरीवेक्षक र २६ जना गणक, रोशी गाउँपालिकामा १० जना सुपरीवेक्षक र ३३ जना गणक, महाभारत गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १६ जना गणक, खानीखोला गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १३ जना गणक, तेमाल गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २८ जना गणक तथा नमोबुद्ध नगरपालिकामा १० जना सुपरीवेक्षक र ३९ जना गणक रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















