काभ्रेको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले आगामी निर्वाचन पछि आउने जनप्रनिधिलाई कुनै पनि काम बाँकी नराखी विकास निर्माण गरेको दावी गरेका छन् । गाउँपालिकाको वडा नं. ३, माझीफेदामा सत्तल उद्घाटन तथा विष्णुनारायण गणेश भगवान प्राण प्रतिष्ठापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गौतमले उक्त दावी गरेका हुन् ।

आफ्नो कार्यकालमा राम्रो गरे वा नराम्रो गरे मुल्यांकन गर्ने काम जनताको भएको बताउँदै सबै पक्षका विकासको शुरुवात गरेको बताए । ’हामीले राम्रो गरेका छौं कि नराम्रो गरेका छौं । या त गरेका छौं या त नराम्रो गरेका छौं । गर्न चाहिँ गरेका छौं । मुल्यांकन गर्ने काम तपाईंहरुको हो ।’ गौतमले भने, ’हामीले भौतिक पूर्वाधार विकासमा केके गर्यौं ? आर्थिक विकासमा के के गर्यौं ? सामाजिक विकासमा के के गर्यौं ? सल्लाह सुझाव दिनुहोला ।’


कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ’हामी दावाका साथ भन्छौं अब आउने जनप्रतिनिधिले शुरु गर्नुपर्ने काम केही पनि बाँकी छैन । सबै पक्षका विकासको शुरुवात गरेका छौं । नयाँ एजेण्डा अब आउनेलाई छैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विनोद घिसिङले गाउँपालिकाबाट १५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको बताउँदै अब यो संरचनाको संरक्षण गर्न अनुरोध गरे । धार्मिक पर्यटनका हिसाबले महत्वपूणर् तिर्थस्थालको रुपमा अब यो स्थानले चिनाउनेमा वडा अध्यक्ष घिसिङले दावी गरे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा नं. २ का वडा अध्यक्ष दिनेश लामा लगायतका सहभागी थिए ।

कार्यक्रम आयोजक समितिका संयोजक रमेश गौतमको सभापतित्व तथा पत्रकार कमल सर्गमले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।