वागमती प्रदेशसभा सदस्य सांसद रत्न ढकालले कृषि अनुदान लक्षित वर्गमा पुग्न नसकेको बताएका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ स्थित खहरे खोला एग्रो कृषि फर्मको बुधबार उद्घाटन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।

ढकालले कृषिसँग साइनो नहुनेले सरकारी अनुदान लिएको समेत ठोकुवा गरे । ’कृषिसँग कुनै साइनो नहुनेले अनुदान लिएका छन् । अचम्म छ यहाँ ।’ उनले भने, ’वास्तविक किसानलाई लक्षित बनाएर राज्यले अनुदानको कार्यक्रम ल्याएको हुन्छ । तर लक्षित वर्गमा अनुदान पुगेको छैन ।’ अब लक्षित वर्गमा त्यस्तो कार्यक्रम पुर्‍याउन आफूहरु लागीपर्ने उनले प्रतिबद्धता जनाए ।

वागमती प्रदेश सरकारले कृषि अनुदानका लागि प्रसास्त मात्रामा बिनियोजन गरेको बताए । ’वाग्मती प्रदेशले कृषि अनुदानको लागि प्रशास्त मात्रामा बजेट बिनियोजन गरेको छ । युवा ब्यबसायीहरुलाई सहयोग गर्नेछु ।’ ढकालले भने, ’किसानले उत्पादन गरेको दूतमा प्रती लिटर प्रदेश सरकारले २ रुपियाँ अनुदान दिएको छ । धेरैलाई यो बिषयमा थाहा छैन ।’

अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको उल्लेख गर्दै सांसद ढकालले सहकारी र कृषि क्रान्तिबाट समाजवादमा पुग्ने बताए ।

नेपालमा पुरातनवादी कृषि प्रणाली रहेकोले आत्मनिर्भर मुखी उत्पादन हुन नसकेको ढकालले दावी गरे । ’कृषिलाई व्यवसायीक ढंगले अघि बढाएर आत्मनिर्भरमुखी बनाउन जरुरी छ ।’ उनले भने, ’यसलाई स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तिनै तहले उच्च प्राथमिकताका साथ अघि बढाउनु पर्छ । आत्मनिर्भरताको लागि हाम्रो मुलुकमा पहिलो कुरा कृषि हो भने अर्को पर्यटन हो ।’

युवा व्यवसायी नक्कुल चौंलागाईंले श्रमप्रति घृणा गर्नेहरुलाई पाठ सिकाएको बताउँदै अब काभ्रेकै ठूलो फर्म सञ्चालन गरेकोमा उनले धन्यवाद समेत दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।