काठमाडौँ । नेपाल तामाङ कलाकार संघले “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” गर्ने भएको छ ।

कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव  बौद्ध चुच्चेपाटी स्थित होटल हायातको खुल्ला मैदानमा आगामी मंसिर २४ र २५ गतेहुने  जानकारी दिएको हो । प्रत्येक वर्ष महोत्सव गर्ने भनिएता पनि कोरोनाका कारण गत वर्ष गर्न नसकिएको संघले जनाएको छ ।

महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दोमायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरू प्रस्तुत हुनेछन् । दुई दिनसम्म चल्ने महोत्सवमा सेलो गीतसंगीतका विभिन्न पक्षहरूबारे बहस तथा छलफल हुने आयोजकले जानकारी दिएको छ ।

तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघले बताएको छ। संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दै आएको बताउनुभयो ।

ताम्बा तथा मौलिक सेलो गीतहरुको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिने बताउँदै उहाँले महोत्सवमा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबै कुरा समेटिएको प्रस्तुतिहरू हुने जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम बहादुर आलेले उद्घाटन गर्ने उक्त कार्यक्रम समापन भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुहुने आयोजकले  जनाएको छ ।

दोस्रो तामाङ मौलिक
सेलो संगीत महोत्सव – २०७८

यस्तो छ अवधारणा

सम्पुर्ण सञ्चारकर्मी मित्रहरु एवं उपस्थित सम्पुर्ण तामाङ संघ संस्था, व्यक्ति व्यक्तित्व महानुभावहरुमा सर्वप्रथम फ्याफूल्ला !!!

सर्वप्रथम नेपाल तामाङ कलाकार संघ स्थापना कालदेखि आज सम्म आइपुग्दा विभिन्न उतारचढावका साथ पहिलो तामाङ सेलो संगीत तथा खाना महोत्सव–२०७६ भब्य रुपमा सम्पन्न भएको कुरा यहाँहरु सबैमा सर्वविदितै छ । यस कार्यक्रम कोभिड–१९ को कारण २०७७ सालमा भने हामिले आयोजना गर्न सकेनौं । यस पटक भने त्यसै कार्यक्रमलाई निरन्तरता दिदै “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” को बारे अवधारणा सहित यो संस्था हजुरहरु समक्ष उभिन पाउँदा संस्थागत रुपमा हामी गौरवान्वित भएका छौं ।

हामी तामाङ जाती मौलिक संस्कृतिमा अत्यन्तै धनी छौं । यसलाई विकास, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु पनि हामी सबैको दायित्व हो। यसै कुरालाई अत्मासाथ गर्दै नेपाल तामाङ कलाकार संघ विगत स्थापना कालदेखि आजसम्म निरन्तर तामाङ मौलिक संस्कृतिमा आधारित विभिन्न कार्यक्रमहरुमा केन्द्रित भई विशेष गरि संस्कृतिक प्रवद्र्धन, सम्बद्र्धन र विकासको लागि काम गर्दै आइरहेको सर्वविदितै छ । तामाङ मौलिक संस्कृतिको मेरुदण्डको रुपमा रहेको डम्फु संस्कृति अर्थात ताम्बा संस्कृति हाम्रो प्राण हो र शान पनि हो । यसै डम्फू सेलो संस्कृति अर्थात ताम्बा संस्कृति हामी तामाङ जातीको सभ्यता विकास सँगै उत्पत्ति भएको पाईन्छ । डम्फू तामाङ संस्कृतिको मुटु हो । यसै डम्फुले हाम्रो उत्पतिको कुरा अर्थात ठुङ्साको कुरा गर्छ, बब्साको कुरा गर्छ । हाम्रो दोङराप, काईरन, ग्युइठीम, Þह्यूलठीम, ग्यालठीम र समग्रमा तामाङ ह्रीमठीम को कुरा गर्ने बाजा हो डम्फू । त्यसैले त हामीले भन्न पाएका छौं ।

होङला लु तेन बरला चन्
ह्याङलामी तामाङ म्हारमेन छन्
उन्म दाङबो कल्बोला ठीम
खप्पै विमा फ्यूक्पो टीम

डम्फू संस्कृति अर्थात ताम्बा संस्कृति हाम्रो लागि विधि वा विधान हो ।

यसलाई तामाङमय कानुन पनि भन्न सकिन्छ । सबै समुदायको निम्ति आफ्नो संस्कार र संस्कृति उ आफ्नै लागि भने एउटा कानुन हो । राज्यबाट सयौं वर्ष दमन र उत्पिडनमा पारिएको हाम्रो तामाङ समुदाय राजनितिक र आर्थिक रुपमा विस्थापित भएपनि संस्कृतिक रुपमा भने हाम्रो पूर्खाहरुले संरक्षण र सम्बद्र्धन गर्दै यहाँ सम्म हाम्रो संस्कृति जोगिएकोमा भने हामीले गर्व गर्न सक्छौं ।

हामी तामाङ समुदायले डम्फूलाई मौलिक रुपमा भने डाम्बा भन्ने गरिन्छ र यसको विकसित स्वरुप नै डम्फू हो । डाम्बा अर्थात डम्फूले हाम्रो जन्म देखि मृत्यु संस्कार सम्मको सबै विधिको कुरा गर्छ । यसरी तामाङहरुको मौलिक संस्कृतिलाई मौखिक रुपमा सबै संस्कार र संस्कृतिको बारे प्रस्ट्याउने संस्कृतिविद हुन् ताम्बा । यो ताम्बा दर्शन तामाङ समुदायको जीवन दर्शन हो । त्यसैले यसको महत्वलाई अबको नयाँ पुस्तालाई दर्शाउने हाम्रो प्रमुख दायित्व हो । यहि डम्फू संस्कृति विकास हुँदै आउने क्रममा नै सेलो संगीतको विकास हुँदै आएको पाइन्छ ।

ताक धूई ताक धुई ।
धुम ताक धुम ताक ।
ताक धुम ताक धुम ।
धिन ताक धिन ताक ।

लगायत डम्फूका अनेकौं तालहरु छन् । यो डम्फूको ताल नै यस्तै छ सबैलाई नचाउने । यसै डम्फूको तालमा नाचौंन अर्थात स्याइले भन्दा भन्दै कलान्तरमा स्याइले स्याइलेको सेलो भएको भन्ने तामाङ विज्ञहरुको कथन छ । यसरी विकास हुँदै आएको सेलो संगीत आजको विश्व बजारमा चिनाउनु हामी सबैको दायित्व र जिम्मेवारी हो । डम्फू ताल बाजा मध्येको प्रमुख बाजा पनि हो । पश्चिम संगीतले पनि डम्फूलाई ताल बाजाको रुपमा व्याख्या गरेको पाईन्छ । यो डम्फूलाई पश्चिमी संगीतले च्थतजझ या ँबतजभच भनेर व्याख्या गरेको पाईन्छ । यसैले पनि यो डम्फूको महत्व बेग्लै छ । यदि मानव जातिको उत्पतिको कुरा गर्छ भने त्यो बाजा हो डम्फू । यसै डम्फूको कईरन डम्फूको दोङराप समग्रमा डम्फूको गाथा नयाँ पुस्तालाई दर्शाउनु हाम्रो प्रमुख दायित्व हो । पछिल्लो कालमा टेक्नोलोजिकल प्रविधिले गर्दा पश्चिमी संगीतको प्रभावले हाम्रो संस्कृति छायाँमा पर्दै गएको हुँदा हामी संस्थागत रुपमा चिन्तित पनि छौं । त्यसैले हाम्रो डम्फू सेलो संस्कृतिको महत्व भावि पुस्तालाई प्रस्ट्याउन सक्यो भने अवश्य पनि हाम्रो डम्पूm सेलो संगीतले विश्व बजारमा एउटा छुट्टै छाप राख्नेछ भन्नेमा हाम्रो संस्था विश्वस्त छौं । यो डम्फू दर्शन अर्थात ताम्बा दर्शनलाई संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र विकास गर्दैै संसारभरि तामाङ सेलो संगीतको छुट्टै पहिचान बनाउने एउटा प्रयत्नको रुपमा यो दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८ हुन गईरहेको कुरा यहाँहरु सबैमा जानकारी गराउन चाहान्छौं ।

तामाङ मौलिक सेलो संगीत भन्ने वित्तिकै तामाङ जातिमा प्रचालित साथै लोप हुन लागेको सबै संस्कृतिहरुको कुरा आउँछ । भेगिया रुपमा अलि अलि फरकपन भएपनि तामाङहरुले गाउने सेलो, म्हेन्दोमाया, खन्दोके, फापरे आदि गीतहरु सबै डम्फू को तालमा गाउने गीतहरु हुन् । त्यसैले समग्र तामाङ संस्कृतिलाई प्रतिनिधित्व गर्ने बाजा हो डम्फू । यसै डम्फूलाई संसार भरि चिनाउने महान उदेश्य राखि यो दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८ हुन गईरहेको छ ।

हामी यस कार्यक्रमको सुरुवाती चरण मै छौं । त्यसैले कार्यक्रम गर्दा सकेसम्म कमि कमजोरी नहोस् भनि मौलिकता दर्शाउने खालको कार्यक्रम गर्ने प्रयत्न गर्ने छौं । यस कार्यक्रमको मुल आकर्षणको रुपमा ताम्बा संस्कृति रहने छ । ताम्बाहरुद्वारा डम्फूको महत्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृतिको गीतहरुको प्रस्तुती झनै पृथक रहने छ । साथै मौलिक गीतहरुको प्रस्तुतीहरु झनै रोचक रहने छ । सकेसम्म र सम्भव भएसम्म तामाङ संस्कृतिक सभ्यता सँग सम्बन्धित सबै कुराहरु समेटेर यस दुई दिनको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने हाम्रो संस्थागत चाहना रहेको छ ।

यसरी सम्पन्न गर्न लागिरहेको कार्यक्रमको मिति यहि मंसिर २४ र २५ गते काठमाडौं, बौद्ध चुच्चेपाटी स्थित होटेल हायातको खुल्ला मैदानमा कार्यक्रम हुने स्थान रहेको जानकारी गराउन चाहन्छौं ।

तसर्थ, उपस्थित संचारकर्मी मित्रहरु एवं उपस्थित संघ संस्था, व्यक्ति व्यक्तित्व महानुभावहरुमा यस कार्यक्रम सव्य अनि भव्य रुपमा सम्पन्न गर्नको लागि यहाँहरुले नेतृत्व गर्नुभएको संघ, संस्था तथा कम्पनीहरुबाट व्यापक रुपमा प्रचार प्रसार गरिदिनु हार्दिक अनुरोध गर्दछौं । यो वैज्ञानिक प्रविधिको युगमा अवश्य पनि उपस्थिति हुनु हुने तपाई सम्पुर्णबाट अमुल्य साथ, नैतिक भौतिक सहित सहयोग रहने छ भन्ने अपेक्षा गर्दछौं ।

यो कार्यक्रम तपाई हाम्रो आफ्नै मौलिकता सँग जोडिएको पृथक खालको कार्यक्रम हुन गईरहेको हुँदा तपाई सम्पूर्णले यस कार्यक्रमलाई आफ्नै कार्यक्रम सम्झेर विशेष महत्वकासाथ व्यापक रुपमा प्रचार प्रसार गरि सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

“ह्राङलान ह्रिमठीम ह्राङलन ग्योई
ह्याङनोन डीम्सी छार्नालाई”

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।