काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहको बताए ।अध्यक्ष दाहालले महाभारत क्षेत्रका जनताको विकासको चाहना र आकांक्षलाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको पनि उल्लेख गरे ।

आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्माण गर्नका लागि ५० करोड विनियोजन भइसकेकामा त्यसलाई पूर्णता दिन पहल गरिने उल्लेख गर्दै उनले त्यही बेला पहल खोजिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णता दिन आफ्नो प्रयास केन्द्रित रहने पनि बताए ।

पार्टी पुनःगठनको महाभियान चलाउने र पार्टीलाई नयाँ क्रान्तिकारी पार्टीमा रुपान्तरण गरेर छाड्ने अठोट गरिएकाले देशव्यापीरुपमा सदस्यता नवीकरणदेखि टोल भेला हुँदै वडा, पालिका तथा प्रदेश हुँदै राष्ट्रियस्तरको सम्मेलन गर्ने अभियानमा आफू जुटिरहेको उनले बताए।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले माओवादी केन्द्रले गरेको विकास निर्माणको कामबाट अत्तालिएर डाँडापारिको मुहार फेर्ने काममा भएको सकारात्मकतालाई भ्रमपूर्ण प्रचार गर्दै हिँडेकोमा दुःख व्यक्त गरे । हिजोको दिनमा विकट डाँडापारिका जनतालाई अहिले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको तर्फबाट गरिएको विकासकेन्द्रित योजनालाई पूरा गर्ने सवालमा कसैले भ्रम फैलाउँदैमा त्यसबाट पछि नहट्ने उनको भनाइ थियो ।

यस्तै, सङ्घीय सांसद गङ्गाबहादुर तामाङले महाभारतका जनताको मुहार फेर्नको लागि आफूहरु निरन्तर प्रयत्नशील रहेको जानकारी दिए। अध्यक्ष प्रचण्डले मौसमको खराबीका कारण त्यहाँ पुग्न नसकेपछि काठमाडौँबाटै फोनमार्फत सम्बोधन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।