काठमाडौं । नेकपा माओवादी केन्द्रले १२ जना केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन्।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जना नेतालाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको हो। केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अधिकांश युवा छन्। माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्वाह गर्न पाउँछन्।

केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल क्रान्तिकारीका पूर्वनेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी रहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन्। अर्का नेता अधिकारी पूर्वमहासचिव हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी , जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि माओवादी केन्द्रको पार्टी जिल्ला इन्चार्ज रहेका तर केन्द्रीय समितिमा नरहेका नेताहरूलाई पनि पार्टी केन्द्रीय प्रतिनिधिमा राखिएको छ।

यस्तै, पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव छन् । उपसमितिले मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताए ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।

Comments

comments