काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं.५ का सांसद रत्न ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।

संघिय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ बाट निर्वाचित ढकाल बाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मंगलवार नियुक्ति भएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रीपरिषद् विस्तार गर्दै सांसद ढकाललाई युवा तथा खेलकुद मन्त्रीमा आज नियुक्ति गरेका हुन् । लिपुलेक अभियानका कमाण्डर समेत भनेर चिनिने युवा नेता ढकाल माओवादी केन्द्रका उदयमान, गतिशील र विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

विद्यार्थी आन्दोलनमा निरन्तर रुपमा सक्रिय ढकाल अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । यस्तै, मुख्यमन्त्री पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाउँने तयारी गरेका छन् ।

हुमागाईँले मन्त्रिपरिषद् विस्तार हुन लागेको र आफू पनि मन्त्री बन्न लागेको जानकारी आएपनि कुन मन्त्री बन्न लागेको र कतिबेला शपथग्रहण हुँदैछ भन्ने जानकारी नआएको बताएका छन् । यसैगरी, नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने पक्का भएको जनाइएको छ ।

नेपाली कांग्रेसले भने अझै महाधिवेशन नसकिएकोले अहिलेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नहुने जनाएको छ ।  मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेर साँझ ५ बजे शपथग्रहण गराउने तयारी गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।