ललितपुर । गोदावरी वडा नं. ३ टौखेलमा रहेका महिलाहरुको क्षमता विकासको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम गोदावरी सरोकारको आयोजना तथा गोदावरी वडा नं.३ को अर्थिक सहयोगमा गोदावरी सरोकार संस्था कार्यालयमा सुरु भएको छ ।

मंगलबारबाट शुरु भएको तालिमको उद्घाटन गर्दै वडाअध्यक्ष बालमुकुन्द घिमिरेले तालिम आयोजना गरेकोमा विशेष धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरे । महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले तालिम आयोजना भएकोमा खुसी लागेको उनले बताए ।

साथै गोदावरी सरोकार संस्थाले खेलेको  महत्त्वपूर्ण भूमिकाबाट महिला वर्गको उत्थानमा मद्दत गरेको उनको भनाई  छ ।  महिला सशक्तिकरणको लागि स्वयमलाई समय दिन जरुरी रहेको बताउँदै उनले घर, समाज र राष्ट्रलाई व्यवस्थापन गर्नका निम्ति महिलाहरुको नेतृत्व विकास हुन आवश्यक रहेको बताईन्।

देशको विकास सँगै महिलाहरुको पनि नेतृत्व बहन क्षमतामा विकास हुन जरुरी रहेको बताउँदै उनलेमहिलाहरुले आफुलाई कहिल्यै पनि कमजोर ठान्न नहुने भन्दै पितृसतात्मक सोचलाई त्यागेर आफ्नो गन्तव्यलाई सक्षम बनाउन आग्रह गरिन् ।

तालिम आयोजनाबाट महिलाहरुको आत्मविश्वास बढ्ने तथा नेतृत्व लिन सक्ने क्षमता बढ्ने गोदावरी सरोकारकी अध्यक्ष बेबि राजभण्डारीको भनाई छ । आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरेका छन्  ।

१५ दिनसम्म चल्ने तालिममा २० जना महिलाहरु सहभागी भएका थिए । तालिममा बोल्ने कला अर्थात वाक कला माईनुट लेखन लगायतका विषयहरुमा सञ्चारकर्मी एंव प्रशीक्षक अनिता महर्जनको नेतृत्वमा प्रशिक्षण दिइने छ । तालिमको अवधिम सहभागीहरुलाई व्यक्तित्व विकास,नेतृत्व विकास र उदघोषण तालिम दिइनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।