बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले रोशी गाउँपालिकामा प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट विनियोजन गरेको दाबी गरेका छन् । रोशी गाउँपालिका वडा नं. ९ रजवशमा रहेको श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सव तथा विज्ञान प्रयोगशाला, खानेपानी र शौचालय उद्घाटन एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले उक्त दाबी गरेका हुन् ।

रोशी गाउँपालिका भरिमा पनि वडा नं. ९ मा सबै भन्दा बढी बजेट विनियोजन गरेको बताउँदै अब आफ्नै पालोमा पिन्थली–रजवश–भुमेचुली हुँदै महाभारत जोड्ने सडक पिच हुने बताए ।

‘मेरो निर्वाचन क्षेत्र अन्तर्गत रोशी गाउँपालिकामा सबैभन्दा बढी बजेट परेको छ । त्यसमा पनि वडा नं. ९ मा सबैभन्दा बढी बजेट परेको छ । मुख्यतः पिन्थली–रजवश–भुमेचुली हुँदै महाभारत जोड्ने सडक र पर्यटन विकासको लागि भ्यु टावर निर्माणमा बजेट विनियोजन भएको छ । काम पनि भइरहेको छ ।’ उनले भने, ‘यो सडकको स्तरोन्नति हुँदै छ । महाभारत जाने सबैभन्दा छोटो बाटो यही हो । मेरै कार्यकालमा पिच गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’

यो क्षेत्रको विकास सबैभन्दा बढी आफूहरूले चाहेको बताउँदै मन्त्री ढकालले त्यसको नेतृत्व पनि आफूहरूले नै गर्ने बताए ।

समृद्धिको लागि तीनै तहको समन्वय जरुरी

मन्त्री नियुक्त भएपछि गृह जिल्लामा भएको पहिलो कार्यक्रममा आफूले विचारको आधारमा विकास निर्माणलाई नहेर्न बताउँदै तीनै तहका सरकार मिलेर काम गरेमा समृद्धि चाँडै सम्भव भएको समेत बताए ।

‘संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । जस अनुसार तीनै तह सक्रिय छ ।’ ढकालले भने, ‘यहाँको समग्र विकासका लागि तीनै तहका सरकारले समन्वय गर्नुपर्छ, मिलेर विकास गर्नुपर्ने हुन्छ । तीनै तहको उचित समन्वय भएन भने समृद्धि सम्भव छैन ।’

अहिलेका जनप्रतिनिधिले के गरे ?

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू भन्दा अगाडिका जनप्रतिनिधिले के गरे र आफू आएको ४ वर्षमा के–के भयो भन्दै जनतासँग प्रश्न समेत गरे । ‘तपाईँहरूले यो भन्दा अघि पनि जनप्रतिनिधि त पाउनु भो तर तपाईँले के पाउनु भो ?’ मन्त्री ढकालले प्रश्न गरे, ‘तर मेरो यो ४ बर्से कार्यकालमा केके पाउनु भयो ? तपाईँहरूले मूल्याङ्कन गर्नुहोस् ।’

उनले आफ्नो पालामा सडक सञ्जाल, शिक्षा–स्वास्थ्य, पर्यटन विकास, विद्युतिकरण लगायतका कार्यमा निक्कै विकास भएको दाबी गरे ।

आर्थिक परिवर्तन अबको मुख्य काम

मन्त्री ढकालले अबको मुख्य काम आर्थिक परिवर्तन भएको प्रस्ट पारे । आफूहरूले राजनीतिक परिवर्तनको लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै ढकालले अब राजनीतिक आन्दोलन सकिएको र आर्थिक परिवर्तनको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

‘१० वर्षको जनयुद्धको जग र पहलमा राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । यो सामान्य परिवर्तन होइन ।’ उनले भने, ‘राजनीतिक परिवर्तनले मात्र हुने रहिन्छ । अब आर्थिक परिवर्तन गर्न आवश्यक देखियो । समाजवादको दिशामा अघि बढाउन आवश्यक छ ।’

दुनियाँमा खेलको मध्यमबाट चिनाउने

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले नेपाललाई खेलको माध्यमबाट चिनाउने प्रतिबद्धता जाहेर गर्दै बिदेसिएका युवाहरूलाई मुलुक भित्रै रोजगारको सिर्जना गर्ने बताए । उनले खेलाडी र खेल मैदानको विकासको लागि आफू सधैँ प्रतिबद्धता रहेको बताए ।

‘नेपाललाई विभिन्न हिसाबले संसारभरि चिन्दछ । बुद्धका देश, सिताका देश भनेर चिन्दछ । तर अब खेल क्षेत्रको विकास गरी दुनियाँलाई खेलको माध्यमबाट नेपाललाई चिनाउने छौ ।’ उनले भने, ‘बिदेसिएका युवाहरूलाई रोजगारको सिर्जना गर्नेछु । व्यवहारमा देखिने गरी प्रदेश सरकारले काम गर्ने छ । खेलमैदान र खेलाडी विकासको लागि म प्रतिबद्ध छु ।’

ढकालले ५२ औँ वार्षिकोत्सव तथा विज्ञान प्रयोगशाला, खानेपानी र शौचालय उद्घाटन गरेका थिए ।

२०१८ सारबाट सुरु भई २०२७ सालदेखि स्वीकृत पाएको विन्ध्यवासिनी माविको संस्थापक तीर्थबहादुर राना मगर हुन् । विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थापन मन्त्री ढकालले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद रेग्मीले जानकारी दिए । अध्यक्ष रेग्मीले विद्यालयलाई अब घेरा बार निर्माणको आवश्यकता भएकोले मन्त्री ढकालसँग निर्माणको लागि माग समेत गरे ।

कार्यक्रममा मन्तव्य राख्दै रेग्मीले एक अर्को प्रसङ्गमा रजबस सडक निर्माणको शुरूवात पूर्व मन्त्री सूर्यमान दोङ (लालध्वज)ले गरेको बताउँदै यसलाई स्तरोन्नति गर्न रत्न ढकालले पहल गरेको बताए । उनले भुमीचुलीमा भ्यु टावर निर्माण गर्न बजेट व्यवस्था गरेकोमा मन्त्री ढकाललाई धन्यवाद समेत दिए ।

कार्यक्रममा माओवादी केन्द्र रोशीका नेता अशोक गौतम, भुमेस्थान प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लामा, विद्यालयको संस्थापक तीर्थबहादुर राना मगरका छोरा मेघ बहादुर राना मगर शिक्षक महासङ्घ काभ्रेका सचिव बासु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।