काभ्रे । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा वर्तमान अवस्थामा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) काभ्रेलाञ्चोकको १० औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताएका हुन् ।

सरकारले कमजोर पारेको महत्वपूर्ण तीन प्रमुख अङ्गलाई पुनः जनादेशमार्फत एमालेले फर्काउनुपर्ने उनकाे भनाई थियाे ।

एमाले अध्यक्ष ओलीले एमालेका विरुद्ध पाँचवटै दल एक स्थानमा उभिए पनि एमालेको जत्रो सभा गर्न नसक्ने बताउँदै काभ्रे एमालेले झण्डै ३० हजार नागरिकहरु सभामा उतारेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले सरकार, काँग्रेस र माओवादी प्रति कटाक्ष गर्दै एमाले नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्ध सम्भव भएकाले देशमा लक्षण, सुशासन र समृद्धि सम्भव भएको बताए ।

अध्यक्ष ओलीले राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका थिए।

यस्तै,कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अधिवेशनमा नयाँ नेतृत्व मात्रै नभई आगामी पाँच वर्षका लागि थप विकासको खाका कोर्ने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।