नेकपा एकीकृत समाजवादीको जिल्ला सचिवालय सदस्य तथा पनौती नगर कमिटी अध्यक्ष दीपक थापाले एमालेको १० अधिवेशनमा बाटोभरि ७० करोड किन टाँसेको भन्दै प्रश्न गरेका छन् । काभ्रेको साँगादेखि धुलिखेलसम्म पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्व मन्त्री तथा पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको फोटो टाँसेपछि उनले व्यंग्य गर्दै एक कार्यक्रममा उनले उक्त प्रश्न गरेका हुन् ।
थापाले गोकुल बाँस्कोटाको फोटोसमेत बाटोभरि टाँसेको भन्दै ७० करोड टाँसेको बताए । ‘यीनीहरुले गोकुल भन्नेको पनि फोटो टाँसेको रहेछ । को हो त्यो गोकुल भन्ने मान्छे ?’ उनले भने, ‘बाटो भरि ७० करोड टाँसेको ? के गरेको छ गोकुलले यो देशमा, यो जिल्लामा फोटो टाँस्नु पर्ने काम ?’
ओलीले आफ्नै फोटो अगाडि उभिएर भाषण गरेर मजक गरेको समेत बताए । ‘आफ्नै फोटो पछाडि राखेर आफू अगाडि भाषण गर्ने, देख्नुभयो हिजो धुलिखेलमा ? आफ्नो फोटो पछाडि राखेको छ, एउटा कठपुतली अगाडि बसेर भाषण गरिरहेको छ । तालि बजिरहेको छ । झण्डा हल्लिरहेको छ ।’ थापाले भने, ‘के मजक हो यो जीउँदो मान्छे पछाडि आफ्नो फोटो राखेर ? आफू भन्दा अग्रजको फोटो राख्नु नी । कुनै पण्डितले आफ्नै फोटो राखेर पुराण पढेको देख्नु भएको छ ? त्यहाँ त राम, शिव, शंकर, कृष्णको फोटो राखेको देखेको छु ।’
केपी ओली कसरी राजनेता ?
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केपी ओली राजनेता नभएको दावी गरे । ‘अनि केपी ओली राजनेता रे । राजनेताले सबैलाई गाली गर्छ ? राजनेताले भएभरको आफ्नो साथीहरुको दोहन गर्छ ? आफ्नो समकक्षीहरुलाई सिध्याउँछ राजनेताले ?’ उनले भने, ‘पक्कै पनि राजनेताले त्यस्तो गर्दैन । राजनेताले त सबैलाई सम्झाउँछ । उच्च नैतिकता प्रदर्शन गर्दछ । इमान्दारीता प्रकट गर्दछ ।’
ओलीको फोटो टाँस्नेहरुलाई उनले बाँदरको संज्ञा समेत दिए । ‘त्यो ओली भन्ने मान्छे राजनेता रे भनेर बाँदरहरुले बनेपा साँगा तिर फोटो टाँसेका रहेछन् ।’ उनले भने ।
उनले एमालेको अधिवेशनमा ‘लूटको धन फूपूको सराते’ भएको बताए । ‘हिजो सूर्य झण्डा फहराएर हिँडेको देख्दा ओहो एमाले त रहेछन है जस्तो लाग्यो होला ।’ थापाले भने, ‘यो अधिवेशनमा लूटको धन फूपूको सराते भन्या जस्तै भएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















