ललितपुर । नेपाल सम्पूर्ण नेपालीहरुको साझा घर भएकोले घरलाई सुरक्षित र स्वस्थ राख्नु सबै नागरिकको कर्तव्य मानिन्छ । पक्कै पनि आआफ्नो घरआँगन र घरनजिकको सडक सफाइ आर्फैले गर्नुपर्छ । सानो कामबाट नै सफाइ अभियान थालनी गर्न सक्यौं भने असल नागरिकको पहिचान दिन सकियाला कि भन्ने लाग्छ । घरबाट निस्कने फोहोर वर्गीकरण गरी कुहिनेलाई अर्गानिक मल बनाई कौसी खेती गर्ने र प्लास्टिक, फलाम, कागजलाई बिक्री गर्न सकिने भएकाले पनि घरको फोहोरले मोहर पनि हुने गर्दछ । त्यतिमात्रै नभएर राज्य, स्थानीय सरकारलाई फोहोरको मात्रा पनि घटाउन योगदान दिने असल नागरिक बन्ने मौका पाउन सक्छौं।

मानव जातिले पृथ्वीमाथि धेरै किसिमले अन्याय गरेको बुझिएको छ। पैसा कमाउनका लागि प्रकृतिको दोहोन गर्ने नदीहरूको दोहोन गर्ने, नदीनालाको बहाब नै परिवर्तन गराई बस्ती बसाउने कार्यमा हामी मानव जाति नै अग्रसरमा रहँदै आएका छौं। त्यसैले, आफ्नो घरबाट निस्कने फोहोरहरू जथाभावी नदीनाला, सार्वजनिक स्थलमा फाल्नाले समाज र वातावरण नै संकट आइपरेको प्रस्ट छ। वातावरण स्वस्थ्य भए आफू पनि स्वस्थ बन्न सक्ने हामी नागरिकले बुझ्न जरुरी छ ।

पहिलाको तुलनामा नदिनाला, खोला सफा भएपनि हुनेखाने र शिक्षित वर्गले नै फोहोर फाल्ने र ढल मिसाउने गरेका कारण सफाइ अभियान सोचेजस्तो प्रभावकारी बन्न नसकेको देखिन्छ । त्यसैले सरकारीस्तरबाटै विशेष कार्यक्रम घोषणा गरी वातावरण स्वस्थ बनाउने अभियान थाल्नुपर्ने हुन्छ । शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको औपचारिक कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सडक मात्रै नभएर बागमती विष्णुमती लगायत खोला, सार्वजनिक सम्पदाको वरपर अतिक्रमित गरिएका भुभागहरु हटाउने काम शहरी विकास मन्त्रालयको बताउँदै आगामी दिनमा बागमती वरपरको अतिक्रमित भुभागहरु हटाउने बताएकी छिन्।

 गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले गरेको कार्यप्रति प्रशंसा गर्दै उनले नितिगत हिसाबले कानुनी र कार्यक्रमको हिसाबले केही थप काम गर्नुपर्ने समेत बताईन् । असभ्य मानिसहरुलाई सभ्य बनाउन स्रोत मै कारबाही गर्नुपर्ने बताएकी मन्त्री झाँक्रीले फोहरलाई बर्गिकरण गरेर पुन प्रयोग गर्न नसकिनेलाई डम्पिङ गर्ने र बाँकीलाई प्रशोधन गरेर पुन प्रयोगमा ल्याउन पर्नेमा पनि जोड दिईन् ।

हाम्रो गोदावरी स्वच्छ, सफा र सुन्दर गोदावरी भन्ने नारालाई आत्मसाथ गर्दै अभियन्ताको पहलमा सुरु भएको अभियानले गोदावरी खोला क्षेत्रलाई हरेक हप्ता सफा गर्दै स्वच्छ बनाउन प्रयास गरिरहेको छ। महिला तथा बालबालिकाको पहलमा गर्दै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियान गोदावरी खोलालाई स्वच्छ बनाई नदीलाई पूर्ण र जीवन्त बनाउन सुरु गरिएको हो ।

उक्त सफाइ अभियानको सुधारात्मक प्रयास भईरहेको हुदा यसलाई झन कायम गर्दै, अझै उर्जाका साथ अघि बढ्ने आफुहरुको लक्ष्य रहेको संयोजक बेवी राज भण्डारीले बताईन् । नदी सफाइ अभियान देशकै सफल र पृथक अभियान बनेकोमा अभियन्ताहरु खुसी भएको बताउँदै उनले जल सम्पदाको संरक्षण गर्न समाजका सबै वर्गका नागरिकलाई अभियानले सकारात्मक सन्देश प्रवाह समेत गरेको बताईन् ।

अभियानले २५ औं हप्तासम्म आइतबार एक घण्टा कार्यक्रम गर्ने गरेकोमा २०७६ साल भदौ १४ गते २६ औं हप्ताको कार्यक्रमबाट शनिवारका दिन दुई घण्टा गर्दै आएको संयोजक भण्डारीले बताईन्। गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेबाट शुरु भएको थियो ।

कार्यक्रममा पुर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, वाग्मती सरसफाइ महाअभियानका मुख्य अभियन्ता लीलामणि पौडेल लगायतले सामाजिक काम चुनौतीपूर्ण रहेकाले सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

यसैगरी, कार्यक्रममा मेमोरी किङ्ग अर्पन शर्मा, वरिष्ठ समाजसेवी राजु कार्की, मेघा अस्पतालका अध्यक्ष किसोर जंग राणा, विभिन्न सरसफाई अभियान,अभियन्ताहरु,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु, समाजसेवी राजन थापा, नेपाली सेना, नेपाल प्रहरी ,नेपाल शशस्त्र प्रहरी ,पत्रकार, फोहोर व्यवस्थापनका निकायहरु,स्थानीय निकाय,नेपाल रेडक्रस सोसाइटी,नेपाल स्काउट,युरेसिया रेयुकाई नेपाल, सामाजिक अभियन्ता लगायतलाई कदर पत्रले सम्मान गरिएको थियो ।

अभियानले गोदावरी खोला साप्ताहिक सरसफाइ , विद्यालय स्तरिय जनचेतनामूलक कार्यक्रम , घरदैलो सरसफाइ कार्यक्रम , वृक्षारोपन , सन्देश मुलक होर्डिङ बोर्ड राख्ने , सरसफाइ मानव साङ्ग्लो , लगायतको विभिन्न कार्य गरेर समाजमा चेतना फैलाउने काम गरिरहेको छ। गोदावरीको वातावरण सदैव प्रदूषरहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउने सो अभियानको लक्ष्य रहेको छ।

स्थानीय निकायको जिम्मेवारी र दायित्व अनुसार पूर्वाधारको विकास गर्न लगाएर पर्यावरण जोगाउनको लागि यस्ता अभियान निरन्तर चलाउन आवश्यक रहेको छ। जबसम्म पर्यावरणलाई स्वच्छ बनाउन सकिँदैन तबसम्म अभियान रोक्न हुंदैन । हाम्रो सभ्यता र संस्कृतिलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।