सार्वजनिक सेवा प्राप्त गर्नका लागि सेवाग्रहीले कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्लामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार एक आदेश जारी गर्दै आगामी माघ ०७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भएपछि हुने) साथमा लिएर सेवा लिन आउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जारी गरिएको आदेशमा भनिएको छ, ‘साथै सार्वजनिक स्थलहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भएपनि हुने) साथमा राख्न समेत सूचित गरिएको छ ।’

विश्वव्यापी रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरस कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि यस्तो मापदण्ड बनाएको छ ।

१ सर्वसाधारणले पालना गर्नुपर्नेः
१.१ हिंडडुल तथा आवतजावत गर्दा जनस्वास्थ्यका मापदण्ड र सामाजिक दुरी पूर्ण रुपमा पालना गर्ने ।

१.२ सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी हाट, मेला, जात्रा, पार्टि जस्ता भिडभाड हुने कार्यहरु नगर्ने । यस जिल्लाको पनौती न.पा. वडा नं. ७ त्रिवेणीघाट क्षेत्रमा मिति २०७८।१०।०१ गतेबाट शुरु भई माघ महिनाभर सञ्चालन हुने १२ बर्षे वृहत मकर मेलाको सम्बन्धमा मेलाको कार्यक्रम सञ्चालन नगर्ने तथा २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भक्तजनहरुलाई मकर स्नान मात्र गर्ने ।

१.३ मिति २०७८ माघ ०७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भएपछि हुने) साथमा लिएर सेवा लिन आउने । साथै सार्वजनिक स्थलहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भएपछि हुने) साथमा राख्ने ।

१.४ कोभिड–१९ सँग मिल्दोजुल्दो कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने ।

२. सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमाः
२.१ सार्वजनिक सवारी साधनका हकमा कुल सीट क्षमता भन्दा बढी संख्या यात्रुहरु नराख्ने गरी चालक, सहचालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।

३. माथि उल्लेखित आदेशहरुको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा यस आदेशको अवज्ञा गर्ने जो कोहीलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने व्यहोरा सबैमा जानकारी गराईन्छ ।

Comments

comments