भूमि आयोग काभ्रेको अध्यक्षमा माओवादी केन्द्रका नेता हरि घिमिरे नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे शुक्रबारदेखि नै लागु हुनेगरी भूमि आयोग काभ्रेको अध्यक्ष नियुक्त भएका हुन् ।

काभ्रेली माओवादी आन्दोलनका एक शसक्त र इमान्दार नेताको रुपमा परिचित घिमिरे पुराना पाका नेतामा पर्दछन् । बेथानचोक गाउँपालिकामा जन्मेका सोझो र इमान्दार भएकै कारण पार्टीको उच्च तहमा पुग्न नसकेका घिमिरेले हालसम्म कुनै लाभको पद पाएका थिएनन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी काभ्रे सहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।