काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ८, विर्तादेउरालीका ज्येष्ठ नगारिक, विपन्न, दलित समुदायलाई ब्लांकेट वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिननाथ गौतमले उक्त सामग्री वितरण गरेका हुन् ।
वितरण कार्यक्रममा २ सय १० घर परिवारलाई न्यानो ब्लांकेट वितरण गरिएको थियो । ब्लांकेट वितरणका लागि वडा सदस्य उद्धब प्रसाद चौंलागाईंले १ लाख रुपैयाँ, वडा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

कार्यक्रममा कमजोर समुदायको पक्षमा माओवादी केन्द्र सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष गौतमले समाजवादको आधार यसरी नै तयारी गर्ने बताए । ‘माओवादी केन्द्र जनताको पार्टी हो, किसान, मजदुर, दलित, आदिवासी, उत्पीडित जनताको पार्टी माओवादी केन्द्र मात्र हो ।’ गौतमले भने, ‘पूर्वाधार विकासमा आफूहरुको पहलमा जनताले अनुभूति गर्ने गरि विकास गरेका छौं ।’
त्यसैगरि गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले यहाँको विकास निर्माणमा आफूहरु जिम्मेवार ढंगले लागेको बताए । ‘यस वडामा खानेपानी, सडक, विद्यालय र विद्युतको क्षेत्रमा निक्कै विकास गरेको छ ।’ उपाध्यक्ष चौंलागाईंले भने, ‘सधैंभरि हामी तपाईंहरुको साथमा छौं । जनताको साथमा छौं ।’

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा वागमती प्रदेश कमिटी महासचिव समिर पाण्डेले माओवादी पार्टीकै नेतृत्वमा निरंकुशताको अन्त्य र संविधान निर्माण भएको बताउँदै समृद्धि पनि माओवादी नेतृत्वमै सम्भव रहेका बताए ।
माओवादी केन्द्र चौंरीदेउराली गाउँ कमिटीका कोषाध्यक्ष तथा वडा नंं ८ का वडा अध्यक्ष धन लामाले आफू वडाबासीको चाहना अनुसार विकास निर्माणमा लागेको बताए । ‘तपाईंहरुकै माग र आवश्यकता अनुसार यहाँ विकास निर्माणको योजनाहरु अघि बढेको छ ।’ लामाले भने, ‘आगामी दिनहरुमा पनि तपाईंको चाहना भन्दा बाहिर म जान्न ।’
कार्यक्रममा अखिल (क्रान्तिकारी) काठमाडौं महानगर कमिटीको कोषाध्यक्ष विजय बमजन, कार्यपालिका सदस्य उमेश माझी, वडा सदस्यहरु रमला पन्त, लक्ष्मी कुँवर, उद्धबप्रसाद चौंलागाईं, माओवादी केन्द्रका चौंरीदेउराली गाउँ कमिटी सदस्य नक्कुल चौंलगाईं, पार्टी वडा अध्यक्ष कालीप्रसा पाण्डे, विर्ता ब्वाइज क्लबका अध्यक्ष दावा घिसिङ, लगायतका रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















