काभ्रे जिल्लाको पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले किसानलाई पाडी वितरण गर्न शुरु गरेको छ । आर्थिक वर्ष ७८/७९ को नीति तथा कार्यक्रम र बजेट अनुसार भैँसी संरक्षण तथा संवर्द्धन अभियान अन्तर्गत न्यौपानेले पाडी वितरण शुरु गरेका हुन् ।

पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ४ का किसानलाई पाडी वितरण गरेर सुरू गरेको छ ।
आइतबार वडा नम्बर ४ मा १५ वटा पाडी वितरण गरिएको छ । पनौती नगरपालिकाले चालु आर्थिक वर्ष ७८/७९ मा १५० वटा पाडी बाँड्ने बताएको छ । गत आर्थिक वर्ष ७७/७८ मा ८०६ वटा पाडी वितरण गरेको थियो ।

किसानको आवश्यकता र मागको आधारमा पाडी वितरण कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख न्यौपानले जानकारी दिए । मुख्यगरि गरिब किसानहरुलाई यसले राहत पुग्नेमा उनको विश्वास रहेको छ ।

वितरण कार्यक्रममा नगरप्रमुख भिम न्यौपाने, उप-प्रमुख गीता बञ्जारा, जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमुख मञ्जू गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।