काभ्रेको चौंरीदेउराली गाउँपालिकामा भेंडाबाख्राको लागि पिपिआर खोप अभियान शुरुभएको छ । पिपिआर रोग विरुद्धको अभियान अन्तर्गत आज (मंगलबार) बाट साप्ताव्यापी राष्ट्रिय पि.पि.आर. रोग विरुद्धको खोप अभियान गाउँपालिकाको वडा नं. ५ बाट शुभारम्भ भएको हो ।
अभियानको उद्घाटन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत लामाले ९ वटै वडामा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए । सोही क्रममा लामाले खोपमात्र होइन पिपिआर विरुद्ध जनचेतना जगाउन समेत अनुरोध गरे ।
त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतम (आयुष)ले यो अभियानले किसानहरुको लगानी जोखिममा नपर्ने भएकोले अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यस रोगबाट एउटा खोर मात्र नसकिने, बरु पूरै गाउँमा रहेको खोर सकिने बताउँदै यो अभियानले गाउँपालिकाका किसानहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।
आगामी फागुन २ गतेसम्म चल्ने अभियान गाउँपालिकाको सबै वडामा सञ्चालन हुने पशु शाखा प्रमुख मनमोहन कामीले जानकारी दिए ।
सन् २०३० सम्ममा बिश्वबाटै पिपिआर रोग उन्मुलन गराउने यो अभियान नेपाल भरि सञ्चालन भइरहेको छ । कार्यक्रमको सञ्चालन पशु प्राविधिक टंक चौंलागाईंले गरेका थिए ।
कार्यक्रममा शिक्षकहरु रामहरी चौलागाईं, कृष्णराज गिरि, ९ वटै वडाका पशु प्राविधिकहरुको सहभागीता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















